मानसिक सन्तुलन गुमेका धिमालले दिए ह्वाइटहाउस उडाउने धम्की (भिडियोसहित)



३ वैशाख, न्युयोर्क ।
गत शुक्रबार ३० जना यात्रु बोकेको 'ग्रेहाउन बस' न्युयोर्क राज्य बफेलो बाट ओहायो राज्यको क्लेभल्यान्डतर्फ गुडिरहेको थियो । सो बसमा सवार एक ब्यक्तिले अमेरिकाको आकस्मिक टेलिफोन नम्बर '९११' मा फोन डायल गछर्न् । एक रिङमै फोन उठेपछि डायलकर्ताले भने 'मेरो नाम गुरु धिमाल, म अलकायदाको तर्फबाट' प्रतिउत्तरमा आकस्मिक सेवाका कल रिसिभरले अच्चमित स्वरमा रुपमा भन्छन, 'ओके'। आकस्मिक सेवामा विभिन्न अन्य कलहरुको व्यस्तता एवम धिमालको अंग्रेजी लवजले अस्पष्टता कारण फोन रिसिभरले बोल्छन ' आई एम सरी, गो हेड, सर' । धिमाल अगाडि थप्छन्, ' मसँग वासिङ्टन डिसीमा आतंकवादी प्रर्दशन गर्ने मेजर प्लान छ । हामीसँग बमद्वारा वासिङटन डिसीको ह्वाइट हाउस ध्वस्त पार्ने योजना छ ।'



प्रतिउत्तरमा ९११ का फोन रिसिभरले सोध्छन, 'अहिले तिमी कहाँ छौ ?' प्रतिउत्तर आउँछ, 'म अहिले बसमा छु, ओहायो राज्यमा छु ।' फोन रिसिभर फेरि प्रश्न गछर्न्, 'तिमी के गर्न गरिरहेका छौ रे ?' धिमाल भन्छन्, 'हामीसँग आगामी मे १ तारिखमा ह्वाइट हाउस ध्वस्त गर्ने योजना छ ।' ९११ बाट फेरि प्रश्न गरियो, 'ओहायोको कुन एरिया र कतातिर गइरहेका छौं ?' केहि मिनेटपछि धिमाल फेरि बोल्छन्, 'हेलो ।'
उताबाट जवाफ आउँछ, 'म यहि छु, अरु के सहयोग गर्न सक्छु, सर ?' फोन डायलकर्ता अगाडी भन्छन्, 'केहि आतंकवादीहरु यो क्षेत्रमा आएका छन् र उनीहरुको ह्वाइटहाउस ध्वस्त पार्ने योजना छ ।' फोन रिसिभर भन्छन्, 'तिमीले यसअघि नै आफुलाई ह्वाइट हाउस ध्वस्त पार्ने योजना गरेको बताइसकेका छौ, हैन र ।' धिमाल भन्छन् 'हो।'


फेरि प्रश्न आउँछ, 'तिमी अहिले ग्रेहाउन बसमा छौं हो ?' जवाफ आउँछ, 'हो, म अहिले क्लेभल्यान्डको नजिकै छु ।'
फक्स न्युजमा प्रसारण गरिएको करिब साढे पाँच मिनेटको आकस्मिक फोनको सो दोहोरो संवाद गर्ने ब्यक्ति थिए, नेपाली मुलका भुटानी २८ बर्षीय गुरु धिमाल । न्युयोर्कको स्याराकुसमा बस्दै आएका धिमाल र ९११ अपरेटरबीचको संवाद भएको सात मिनेट पनि नबित्दैं प्रहरीले बस रहेको क्षेत्र '९० इन्टरस्टेट' 'सिज' गरेको फक्स न्युजको क्लिभल्याण्ड संस्करणले जनाएको छ । बसमा बिशेष बम स्क्वाडले खानतलासी लिएपनि केहि बिफोष्टक बस्तु नभेटिएको जनाइएको छ । प्रहरीले धिमाल सहित बसमा उनीसँगै रहेका ओहायोको कोलम्बस क्षेत्रमा बस्ने ६७ बर्षीय भगीरथ कोइरालालाई पनि पक्राउ गरेको थियो । कोइरालालाई सोमबार नै धरौटीमा रिहा गरिएको छ भने धिमाललाई २५ हजार धरौटी तोकिएको छ । हाल उनको मानसिक अवस्थाबारे अनुसन्धान गरिदैँछ ।
कान्तिपुर सँगको कुराकानीमा न्युयोर्कस्थित स्याराकुस भुटानी समाजका एक सदस्यले धिमालको मानसिक अवस्था असन्तुलित रहेको बताए । अमेरिकी सरकारको भुटानी शरणार्थी पुर्नवास अन्तर्गत सन २००८ मा अमेरिका आएका धिमाल यहाँ आएपछि डिप्रेसनका रोगी भएका थिए । झापाको गोलधाप शरणार्थी शिविरमा रहँदा हिन्दु धर्मालम्बी रहेका धिमालले पूजा पाठ, भजन किर्तन गर्ने गर्थे । उनले अमेरिकामा क्रिश्चियन धर्म अंगालेका थिए । शरणार्थी शिविरको भन्दा फरक अमेरिकी समाजमा एडजस्ट हुनेक्रममा कलेज भर्नासमेत भएका धिमाललाई एक अश्वेत युवाले नराम्रोसँग कुटेपछि उनको मानसिक अवस्था असन्तुलित भएको ती सदस्यको भनाई थियो ।
अमेरिकामै वैवाहिक बन्धनमा बाँधिएका धिमाल आफ्ना चार दाजुभाईसँग बस्दै आएका थिए । घटनाबारे डिसीस्थित नेपाली दुताबासले कुनै जानकारी नभएको बताएको छ ।

- कान्तिपुरबाट


Comments