गृह श्रमिकको पेशा नै संकटमा



नरेन्द्र बस्नेत, मोरङ।
पर्याप्त कच्चा पदार्थको अभाव तथा जनशक्ति सबै वैकल्पिक पेशाको खोजी र वैदेशिक रोजगारीमा जान थालेपछि मोरङका गृहश्रमिकहरुको पेशा नै यतिखेर सङ्कटमा पर्न थालेको छ ।
ती श्रमिकहरुले बनाएका सामान घरको दैनिक काममा प्रयोग हुने गरेका छन् ।
मोरङको उत्तरी क्षेत्रमा यो पेशा गर्ने श्रमिकहरु बर्षको एक पटक 'वाली' वा ज्याला लिएर जिविकोपार्जन गर्दै आएका छन् । ती मध्येका एक हुन्, लेटाङ ८ का ५५ वर्षिय तेज वहादुर विश्वकर्मा । अनुहार कोइलाको राप र धुलोले कालो भएका विहान उठ्नासाथ आफ्नो काममा खटिन्छन् । हँसिया, कोदालो, कुटोजस्ता फलामका सामान बनाउनु उनको दैनिकी नै हो ।
यहि कामबाट आएको केही रुपैयाँले उनको परिवारको गुजारा चल्ने गरेको छ। पुर्ख्यौली पेशालाई उनले निरन्तरता दिँदैआएका भए पनि कामको उचित दाम नपाउने र न्युन आम्दानी भएका कारणले गर्दा उनका सन्तानले यो पेशालाई निरन्तता दिएका छैनन्।



काँचो फलामलाई आफुले चाहेको सामान वनाउन त्यति सजिलो पनि छैन । यहि आरनको कामले गर्दा आफूलाई दम र खोकी लाग्न थालेको उनी बताउँछन् ।
तेजबहादुर एक्ला मात्र भने होइनन्, गाउँ घरका उनीजस्ता आरन चलाउनेको पनि अवस्था उनको भन्दा कम छैन । उचित कार्यथलोको अभाव, काम अनुसार ज्याला र प्रविधिको विकाससँगै परिवर्तन नआएकाले गर्दा यस्ता श्रमिक अझ वढि जोखिममा परेका छन् । राज्यले यस्ता श्रमिकलाई नयाँ प्रविधि ल्याउन मद्दत गर्नुपर्ने त्यस्ता गृहश्रमिकहरु बताउँछन् ।




Comments