शिवशंकर उत्कृष्ट नागरिक



३ बैशाख, विर्तामोड।
वीरता जेसीजका पूर्व अध्यक्षहरुले प्रत्येक बर्ष गर्दै आएको उत्कृष्ट नागरिक सम्मान-२०७१ बाट यसबर्ष गीतकार तथा संगीतकार शिवशंकर थापालाई सम्मान गरिएको छ ।
'भन्थिन् मेरी उनी...' सहितका दर्जनौं लोकप्रिय गीतका रचनाकार तथा संगीतकार थापा झापाको बिर्तामोड निवासी हुन् । उनलाई सम्मान पत्र, दोसल्ला, स्वर्ण पदक र नगद ११ हजार रूपैयाँसहित सम्मान गरिएको थियो ।
सो अवसरमा झापाका जेसीजका १२ शाखा लगायत विभिन्न एक सय दस संघ-संस्थाले सम्मानप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न उपहार तथा संयुक्त सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गीत/संगीतकार अशोक राईले सम्मानित स्रष्टा थापालाई सम्मान पत्र र स्वर्ण पदक प्रदान गरेका थिए।




सम्मान कार्यक्रममा बोल्दै सम्मानित प्रतिभा शिवशंकर थापाले जेसीज सहितका विभिन्न संघ-संस्थाहरुको सम्मानले आफूलाई सिर्जनशील कर्ममा लागिरहन उत्प्रेरणा प्रदान गरेको बताए।
गीत सिर्जनाको पहिलो आधार शब्द रचना भएको बताउँदै सम्मानित प्रतिभा थापाले शब्दबिना संगीत र स्वर सिर्जना नै नहुने बताए।
कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारीले सर्जकहरु मुलुक निर्माणका अभियन्ता भएको बताउँदै राजनीतिक दलबाट अपेक्षित परिवर्तन हुन नसकेको धारणा राखे।
राजकुमार पोखरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कार्यक्रम संयोजक गणेशकुमार शाक्यको अध्यक्षतामा भएको थियो।
कार्यक्रममा सम्मानित व्यक्तित्वको जीवनी लक्ष्मण ढकालले प्रस्तुत गरेका थिए। सम्मानपत्र वाचन बिनोद बस्नेतले गरेको कार्यक्रममा स्वागत मन्तव्य वीरता जेसीजका अध्यक्ष भक्तराज भारती र आस्थावाचन वीरता लेडी जेसीजका अध्यक्ष पार्वता विमलीले गरेका थिए।
सम्मानपछि आयोजित कार्यक्रममा प्रमुख अतिथि राईले 'म विष पिउँछु साथी..., बैशाखी बनमा फूलको श्रृङ्गार पातको क्रन्दन छ...बोलको गीत गाएका थिए।
कार्यक्रममा लोकगायक हस्त परियारले थापाद्वारा लिखित गीत गाएका थिए भने साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले थापाकै रचना गाएर सम्मान जनाए।
कार्यक्रममा अनिल फागो, सनलाइट संगीत विद्यालयका विद्यार्थीहरु प्रदीपकुमार कार्की, आशिष रनपहेली, सविना लिम्बू र दिनेश साम्पाङ राईले गीत संगीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष प्रकाशप्रसाद अधिकारीले यस्तो महत्वपूर्ण कार्यक्रममा आफू सहभागी हुन पाएकोमा नेपाल जेसीजका तर्फबाट आभार प्रकट गरे । कार्यक्रमको सञ्चालन शेखर ढकालले गरेका थिए ।





Comments