डाकाको आक्रमणमा मारिएका श्रेष्ठको शव बुझ्ने सहमति




३ बैशाख, विर्तामोड।
चार दिनअघि झापाको पृथ्वीनगरमा भारतीय सशस्त्र डाका समूहले गरेको आक्रमणका सम्बन्धमा पीडितको माग बमोजिम जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दर्ता गर्ने झापाका राजनीतिक दलहरुबीच सहमति भएको छ ।
डाका समूहको आक्रमणमा परी मृत्यु भएका पृथ्वीनगरका व्यवसायी देवकुमार श्रेष्ठको शव बुधवार तेस्रो दिनपनि पीडित पक्षले बुझ्न नमानेपछि संवाद समूहको सहजीकरणमा बुधवारराति भएको बार्तामा त्यस्तो सहमति भएको हो । पीडित पक्षले घटनाको सम्बन्धमा स्थानीय प्रहरीका प्रमुख दोषी रहेको र उनीविरुद्ध किटानी जाहेरी दर्ता गर्नुपर्ने माग राख्दै आएको थियो ।
संवाद समूहमा भएको छलफलमा आज विहीवार प्रशासनमा जाहेरी दर्ता गर्ने, जाहेरी दर्तापछि संवाद समूह, शान्ति समिति र राजनीतिक दलहरुको सहजीकरणमा पीडित पक्षले शव बुझी अन्त्येष्टी गर्ने दलहरुबीच सहमति भएको छ ।



त्यस्तै चैत ३० गते उक्त घटना सम्बन्धमा प्रशासनसहित भएको सर्वपक्षीय चार बुँदे सहमति कार्यान्वयनको पहल गर्ने समेत उक्त वार्तामा निर्णय गरिएको छ । स्थानीय शान्ति समितिका संयोजक सूर्यनारायण गणेश, राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका कार्यवहाक सभापति देउमान थेवे, नेकपा एमालेका हरि तिम्सिना र कुमार उप्रेती, राप्रपा नेपालका केन्द्रीय सदस्यद्वय राजेन्द्र लिङ्देन तथा भक्ति सिटौला तथा गोपी ढकाल र संघीय लिम्बुवान पार्टीका जिल्ला अध्यक्ष धनबहादुर पन्धाक सुब्बाले सहमतिमा हस्ताक्षर गरेका छन् । संवादको सहजीकरण सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।
श्रेष्ठको मुत्यु सीमा प्रहरी चौकी पृथ्वीनगरका सइ हरि प्रसाईंको चरम लापरवाही र संलग्नतामा भएको आरोप लगाउँदै परिवारजनले शव बुझ्न नमानेको हो ।
हाल श्रेष्ठको शव अञ्चल अस्पताल भद्रपुरको पोष्टमर्टम घरमा प्रहरी घेराबन्दीमा रहेको छ । शव पोष्टमर्टम घरमा रहेपनि परिवारजन र गाउँले जिल्ला प्रहरी कार्यालयमा दुई दिनदेखि धर्ना दिएर बसेका छन् ।


Comments