भूकम्पमा ज्यान जानेको संख्या १ हजार ८ सय ५, पूर्वमा २५

१३ बैशाख, दमक।
हिजो गएको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ५ पुगेको छ । यो तथ्यांक आज विहान ७ बजेसम्मको रहेको गृहमन्त्रालयले जनाएको छ । भूकम्पमा परी पूर्वमा ज्यान जानेको संख्या २५ रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
भूकम्पमा परी सवैभन्दा बढि काठमाण्डौमा जनधनको क्षति भएको छ। काठमाण्डौका अस्पतालहरूमा हजारौं घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
भूकम्पले पूर्वको ओखलढुङ्गामा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ । त्यस्तै सुनसरीमा ७ जनाको मृत्य भएको छ भने सोलुखुम्बु र भोजपुरमा गरी २/२ जनाको मृत्यु भएको छ भने मोरङमा पनि १ जनाको मृत्यु भएको जनाइएको छ ।




भूकम्पले दुहबीस्थित बाबा बिष्कुट फ्याक्ट्रीको पर्खाल भत्किँदा ४ जनाको मृत्यु भएको छ ।
सुनसरीकै इटहरी उपममहानगरपालिका-१० खनारमा रहेको रियलायन्स कपडा फ्याक्ट्रीको वालले किचेर एक मजदुरको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । पर्खालले लागेर खनारका १८ बर्षिय सचिन मुखियाको मृत्यु भएको हो । अन्यमा तीन जना पुरुष र एक जना महिला घाइते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ ।

यस्तै भुकम्पका कारण मोरङमा १४ जना घाइते भएका छन् । विराटनगरका बिभिन्न वडामा ८ जना घाइते भएका छन् भने टंकिसिनुवारी-५ मा ६ जना र पथरी-शनिश्चरे नगरपालिकामा १ जना घाइते भएका छन् । त्यस्तै मधुमल्लामा ३ जना बालक घाइते भएका छन् । मधुमल्लाको चिल्ड्रेन बोर्डिङ्ग स्कूलको भर्खालले किचेर ३ जना बालक घाइते भएका हुन् ।


यसैगरी भुकम्पले पूर्वका विभिन्न स्थानका घर तथा प्रहरी कार्यालयहरुमा ठूलो क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय उर्लावारीको माथिल्लो तला चर्किएको छ भने राधिका उच्च माबि, सुनगाभा बोर्डिङ स्कूल उर्लावारी, सार्वजनिक निमावि राजघाट आम्बारीको पर्खाल र उर्लाबारी १ को ओमसात्य साईको कम्पाउण्ड वाल भत्किएको छ । त्यस्तै उर्लाबारी ३ का धनमाया राईको घर पनि चर्किएको छ । यस्तै भूकम्पले झापा दमकको तारावारीस्थित ताराबारी निमाविको पर्खालमा क्षति पुगेको छ । त्यस्तै झापाको धुलाबारीस्थित खानेपानी ट्याङ्की फुटेको छ भने दमकको सूर्योदय वोर्डिङ स्कुलको पर्खाल पनि भूकम्पले भत्किएको छ ।
भूकम्पका कारण काठमाण्डौ उपत्यकाका पुराना बस्ती बसन्तपुर, ठमेल, नरदेवी, झोंछेलगायतका स्थानमा बढी क्षति भएको छ । भूकम्पका कारण ऐतिहासिक धरहरा ढलेको छ । बसन्तपुर र पाटन दरबार स्क्वायर ध्वस्त भएका छन् ।




Comments