धरहरासँगै भत्कियो अमेरिकाको सपना



विष्णु सुब्बा,
१५ बैशाख, दमक।
गएको शनिबारको भूकम्पबाट ध्वस्त राजधानीमा झापा, दमक -१० का एक सुकुम्मबासी परिबारको सुखको सपना र सम्भावना पनि समाप्त भएको छ । अघिल्लो सोमबार हसिँलो अनुहार लगाउँदै घरबाट हिँडेको कान्छो छोरो रमेश सम्झिँदै आमा हिरादेबी विश्वकर्मा बारम्बार भक्कानिन्छिन् । घरबाट काठमाण्डौ लाग्नु अघिल्लो दिन मात्र छोराले उनलाई हातमा फूलका थुँगा थमाउँदै भनेका थिए, 'आमा,अब हाम्रा दुःखका दिन सकिए, अब सुख हुन्छ ।'
निरक्षर हिरादेबीलाई छोरोले एकजना मायाँ नामकी बेलडाँगी शिविरकी भुटानी शरणार्थी युवतीसँग बिबाहको कागजात तयार पारी अमेरिका उडन लागेको पत्तै थिएन । बाबु बीरबहादुरलाई भने रमेशले केही महिनाअघि बिहे कागजातबारे खुलस्त बताउँदै आफु अमेरिका जाने संकेत दिइसकेका रहेछन् । 'सुकुम्बासीको बास सकिन्छ', बिरबहादुरले बलिन्द्र आँसुधारा चुहाउँदै भने, 'अनुहार उज्यालो बनाउँदै अब जग्गा किनेर घर बनाउनुपर्छ भन्थ्यो, बिचरा दुःखको भारी बोकाएर गयो ।'



शनिबार मध्यान्ह हुन केही मिनट बाँकी हुँदा भूकम्पले राजधानी ध्वस्त भएको खबर सञ्चारमाध्यमले भन्न थालेको थियो । भोलिपल्ट बिहान उज्यालो नहुँदै हिरादेवी र बीरबहादुरले उनीहरुलाई सुखको सपना देखाउने कान्छो छोरो बितेको दुःखी खबर सुन्नु पर्‍यो। 'हामी साह्रै अभागी रहेछौं', रुँदै बृद्ध दलित दम्पतीले भने, 'अभागीले मात्रै छोराछोरीको मलामी जानुपर्छ भन्थे ।'
करिब एकसाता काठमाण्डौ बसेका रमेशले शनिबार बिहान अन्तिमपटक बहिनीलाई फोन गरी आफु आउँदो सोमबार अमेरिका उड्दैछु भनेका थिए ।

दाँया हातमा 'माया ट्याटु बनाएका रमेश पाँचबर्ष अघिदेखि पुनर्बास भएर बिभिन्न मुलुक पुगेका भुटानी शरणार्थीले मगाएका सामान दमकबाट कुरियर गरी पठाउँथे । उच्च मावि तह अध्ययन सिध्याएका रमेशको कमाई राम्रै थियो । त्यसअघि उनी पढ्दै सुन पसलमा कालीगढको काम गर्दथे । उनी, दमक- ११मा बस्दथे र महिनामा सरदर दुईपटक काठमाण्डौ आउजाउ गर्दथे ।

गाँउको बोलाइलो २७ बर्ष तन्नेरी बितेको खबरले दमक-१० को सुकुम्बासी बस्तीमा अहिले शोक छाएको छ । उनको मृत्युको खवर पाएदेखि नै सहानुभुति ब्यक्त गर्न छरछिमेकी र आफन्तहरु आइरहेका छन् ।
भाँच्चिएको धरहराबाट झिकिएको रमेशको शव झापा ल्याइँदैछ । रोजगारीको लागि साउदी अरब गएका रमेशका दाजु तेजबहादुर फर्किएपछि उनको बुधबार अन्त्येष्टी गरिने बताइएको छ ।
यसैबीच बिनासकारी भूकम्पबाट ज्यान गुमाएका रमेशको परिवारलाई दमक नगरपालिकाले ५० हजार रूपैयाँ सहयोग गर्ने भएको छ । आज नगरपालिकाको सम्पन्न बोर्ड बैठकले पिडीत परिवारलाई काजक्रिया वापत ५० हजार रुपैया राहत उपलब्ध गराउने निर्णय भएको कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए।



Comments