अपाड्ग आयोगको माग





२३ चैत, दमक।
अपाड्गता भएका ब्यक्तिहरुले छुट्टै अपाड्ग आयोगको माग गरेका छन् । उनीहरुले अपाड्गको अधिकार संरक्षण गर्ने गरी आयोगको व्यवस्था गर्न माग गरेका हुन्।
आज प्रेस चौतारीले झापा दमकमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय अपाड्ग महासंघका पूर्व केन्द्रीय अध्यक्ष बिरेन्द्र पोखरेलले छुट्टै आयोगको व्यवस्था गर्न माग गरेका हुन्। उनले संबिधानमा अपाड्गको अधिकार स्थापित गर्नका लागि राजनीतिक दलहरु सकारात्मक नभएको बताए। दलहरुले अहिले अपाङ्गता भएका ब्यक्तिहरुलाई भोट बैंक बनाएको पोखरेलले आरोप लगाए। राजनीतिक प्रतिनिधित्वको माग पूरा गराउन अपाङ्गसम्वन्धी संघ संगठनहरु र अपाङ्गता भएका ब्यक्तिहरुले संघर्ष गर्नु पर्ने नेता पोखरेलको भनाई थियो ।



मुलुकभित्र ५ लाख २१ हजार ७ सय ९३ जना अपाङ्गता भएकाहरूको संख्या रहेको उल्लेख गर्दै उनले सरकारी र निजी कार्यालयका अपाङ्गता मैत्री भवन नहुँदा धेरै समस्या पर्ने गरेको पोखरेलको गुनासो थियो । पत्रकारको जिज्ञासाबारे प्रष्ट पार्ने क्रममा पोखरेलले सञ्चार तथा भौतिक संरचनायुक्त निर्देशिका लागु गर्ने महासन्धीमा अनुमोदन गरिसकेको भएपनि स्थानीय निकाय तथा कुनै पनि सरकारी कार्यालयले यसको कार्यान्वयन नगरेको पोखरेलले दुखेसो गरे। पोखरेलले स्थानीय तह नगरपालिका, गाविसजस्ता निकायले अपाङ्गमैत्री भवन बनाउन अपाड्गता भएका ब्यक्ति र सरोकारवालाले दवाव दिनुपर्ने उनको सुझाव छ । बैंकहरुले पैसा झिक्नका लागि दिइने एटीएमकार्ड आवाज सहितको हुनुपर्ने माग उठाएको पनि पोखरेलले जानकारी दिए।
अपाड्गता भएका ब्यक्तिहरुप्रति सामाजिक बिभेद मुख्य समस्या भएको बताउँदै पोखरेलले सामाजिक बिभेदमा परेकाहरुलाई राज्यले स्पष्ट नीति ल्याएर सम्बोधन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा दमक अपाड्ग सहयोग समितिका अध्यक्ष खगेन्द्र भट्टराईले झापामा हुँदै आएका अपाड्गता सम्बन्धी गतिविधिका बारेमा जानकारी गराएका थिए ।







Comments