समृद्ध नेपालको भविष्य कोर्ने संविधान बनाऔं - खरेल




२१ चैत, दमक।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक अग्निप्रसाद खरेलले संविधानसभाले अव गति लिने बताएका छन् । उनले संविधानसभाले आफ्नो दायित्व अनुसार काम थाल्ने बताए।
आज झापाको दमकमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक खरेलले जनप्रतिनिधिमूलक एकमात्र गन्तव्य भनेको संविधानसभा भएको भन्दै यसले नै छिट्टै नयाँ संविधान ल्याउने दावी गरे। एमाओवादी लगायतका विपक्षी मोर्चाहरुले गरेको आन्दोलनको कुनै अर्थ नभएको उल्लेख गर्दै उनले आन्दोलनको सट्टा संविधानसभाभित्र बसेर आफ्नो दायित्वलाई अगाडी बढाउनु पर्ने विपक्षी मोर्चाललाई सुझाव दिए। उनले भने, 'अहिले सडकमा आन्दोलन गर्नुभन्दा कसरी नेपालको समृद्ध भविष्य कोर्न सकिन्छ, त्यस्तो संविधान बनाउन केन्द्रीत हुनुपर्छ ।'



सचेतक खरेलले दोश्रो संविधानसभा कुनै पनि हालतमा असफल हुन नदिने र जेठ १५ गते भित्रमा लोकतान्त्रिक संविधान जारी हुने ठोकुवा गरे। दलीय सहमति बन्न सके आउँदो गणतन्त्र दिवसमा नै संविधान जारी गर्न सकिने चर्चा गर्दै उनले यही समयसीमा भित्र दलीय सहमति जुट्ने दावी गरे। उनले भने, 'अव एमाओवादी लगायतका विपक्षी मोर्चाहरु आन्दोलनबाट केही हुँदैन भनेर थाकेका छन्, छिट्टै सहमती बन्नेछ।'

आगामी २३ गते बस्ने संविधानसभाको बैठकपछि संविधानसभा लेखन प्रक्रियाले गति लिने उनको भनाई थियो । कांगेस र एमाले लगायतका दलहरुले दुई तिहाई बहुमत पुर्‍याउन सक्ने भएपनि सवै दलहरुलाई समेट्न केही समय पर्खिरहेको उनले उल्लेख गरे।






Comments