आम्दा अस्पतालमा पाठेघरको शल्यक्रिया निःशुल्क



८ बैशाख, दमक।
झापाको दमकस्थित आम्दा अस्पतालले महिलाहरुको पाठेघर सम्बन्धी शल्यक्रिया निःशुल्क शुरु गरेको छ । अस्पतालले आज यहाँ औपचारिक रुपमा एक कार्यक्रम गरी सो स्वास्थ्य सेवा निःशुल्क सञ्चालन गरेको हो । उक्त सेवा कार्यक्रमको नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेल र संबिधानसभाका सदस्य महेन्द्रकुमारी सुब्बाले उद्घाटन गरेका छन् ।
दमक-२ मा स्थापित सो अस्पतालले थप उपचार सेवा उपलब्ध गराउन सो कार्यक्रम दमक नगरपालिकाको सहयोगमा सञ्चालन गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर नवीन ढकालले बताए। सो सेवा शुभारम्भ कार्यक्रममा बोल्दै सहभागी बक्ताहरुले सामुदायिक अस्पतालका रुपमा सञ्चालन हुँदैगएको अस्पताललाई थप सुविधासम्पन्न बनाएर स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने औंल्याएका थिए।



कार्यक्रममा बोल्दै एमाले प्रमुख सचेतक खरेलले आम्दा अस्पताललाई छिट्टै आईसीयूसहितको उपचार सेवा पुर्‍याउन सरकारी तहबाट सहयोग जुटाउने आश्वासन दिए। उनले भने, 'आम्दा अस्पताललाई थप सुविधा तथा विशेषज्ञ सेवा उपलब्ध गराउन तथा यहाँ आईसीयू राख्नका लागि आवश्यक प्रकृया अन्तिम चरणमा पुगेको छ ।' मानिसका स्वास्थ्य उपचार गर्न पाउने आधारभूत मौलिक अधिकारलाई राज्यले संविधानतः लिपिवद्ध गराउन आवश्यक रहेको उनको भनाई थियो ।

त्यस्तै, संबिधानसभाकी सदस्य सुब्बाले आम्दा अस्पताललाई गुणस्तरीय स्वास्थ्य संस्थाका रुपमा व्यवस्था गर्न सरकारी सहयोग उपलब्ध हुन नसकेकोमा गुनासो राखिन्। उनले सामुदायिक अस्पतालका रुपमा विकास हुँदै गएको यस अस्पताललाई पूर्वकै सुविधासम्पन्न अस्पताल बनाउन सरकार तथा निजी क्षेत्रबाट सहयोग उपलब्ध हुनुपर्ने बताएन्।

आम्दा अस्पताल सञ्चालक समिति अध्यक्ष तथा दमक नगरपालिकाका निमीत्त कार्यकारी अधिकृत युवराज दाहालले सामुदायिक अस्पतालका रुपमा रहेको आम्दालाई स्वास्थ्य सेवालाई थप गुणस्तरिय बनाउन आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्यहरु राम कुमार थापा,लीला गुरागाईं, जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहता लगायतकाले बोलेका थिए।

सन् १९९२ मा भुटानी शरणार्थीहरुका लागि एक अन्तराष्ट्रिय गैरसरकारी संस्था, आम्दा (एशोसियसन अफ मेडिकल डक्टर्स अफ एशिया)ले प्राथमिक स्वास्थ्य सेवा पुर्‍याउन रिफरल हेल्थ सेन्टरका रुपमा सञ्चालनमा ल्याएको थियो । तर त्यसको केही समयपश्चात अर्थात् सन् १९९६ मा नगरपालिकामार्फत नै सो सेन्टरलाई थप व्यवस्थापन गरी ७५ शैयाको अस्पतालका रुपमा सेवा विस्तार गरिएको मेसु डा. ढकाल बताउँछन्। अस्पतालले बर्षमा २० हजार बढी रोगीहरुको स्वास्थ्य परीक्षण गर्दै आएको छ । अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सक गरी १ सय ६२ जना कार्यरत रहेका छन् ।

तस्वीर - आम्दा अस्पतालले आजबाट सञ्चालन गरेको पाठेघर सम्बन्धी रोगको निःशुल्क शल्यक्रिया कार्यक्रमको उद्घाटन गरिँदै । (विष्णु सुब्बा)

Comments