बसपार्क निर्माणसँग इलाममा जग्गाको मूल्य बढ्यो



३० चैत, इलाम ।
नयाँ बसपार्क निर्माण हुन थालेपछि इलाम नगरपालिकामा जग्गाको मूल्य दिन प्रतिदिन वृद्धि हुँदै गएको छ ।
पाँच वर्षअघि इलाम नगरपालिका–३ ४ र ५ मा प्रतिआना एक लाख रुपैयाँमा किनबेच हुँदै आएको जग्गाको मूल्य अहिले दोब्बरभन्दा बढी भएको छ । हाल उक्त क्षेत्रमा प्रतिआना चार/पाँच लाख रुपैयाँ सम्ममा किनबेच भइरहेको छ ।
बसपार्क निर्माणसँगै होटल व्यवसाय गर्नका लागि इलामका ठूलाठूला होटल व्यवसायीले ती क्षेत्रको जग्गा खरिद गरिरसकेका छन् भने कतिपयले धमाधम खरिद गरिरहेका छन् । पर्यटन प्रवर्द्धन गराउनका लागि पनि बसपार्क क्षेत्रमा ठूलाठूला घरहरु निर्माण हुँदै छन् ।




सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको लगानीमा निर्माण हुँदै आएको नयाँ बसपार्कको काम भइरहेको छ । बसपार्क उपभोक्ता समिति इलामका कोषाध्यक्ष ज्ञानु दाहालका अनुसार अघिल्लो चरणमा जग्गाको सिमाङ्कन, रेखाङ्कनजस्ता कार्य सम्पन्न भई अहिले स्थानीय उपभोक्तामार्फत अन्डर ग्राउन्ड नाली निर्माण गर्ने, पर्खाल बनाउने कार्यसमेत भइरहेको छ।
आर्थिक वर्ष २०६८/०६९ देखि इलाम नगरपालिका–३ स्थित सेरामा निर्माणाधीन नयाँ बसपार्क १४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । इलाम बजारबाट तीन किलोमिटरको दूरीमा रहेको बसपार्क मेची राजमार्गसँग जोडिएको छ ।
उक्त बसपार्कको अनुमानित लागत करिब १० करोड रूपैयाँ भए पनि यो वर्ष १९ लाख रूपैयाँ बजेट विनियोजन भएको छ । बसपार्क निर्माणका लागि पहिलो चरणमा ठेकेदारको काम सन्तोषजनक नभएपछि स्थानीय उपभोक्तामार्फत काम गरिएको बताइएको छ ।

Comments