दमकमा नमुना सडक निर्माण शुरु




७ बैशाख, दमक।
झापाको दमक- ११ स्थित मुख्य बजार खण्डमा रहेको सडकलाई नमुना सडक बनाउने उद्देश्यले निर्माण कार्य शुरु भएको छ ।
दमक नगरपालिकाले उच्च महत्वका साथ सो सडकलाई नेपालकै नमुना सडकका रुपमा विकास गर्ने उद्देश्यले निर्माण शुरु गरेको हो । स्थानीय जनसहभागिता र दमक नगरपालिकाको गरी कूल ६० लाख रुपैयाँको लागतमा शंखधर साख्वा चोकदेखि कोइराला मेडिकल हलसम्मको करिब १ सय ७५ मिटर लम्बाईको नमुना सड्कको निर्माण शुरु भएको सो सडक निर्माण समितिका सचिब नन्दी अधिकारीले जानकारी दिए ।


५० फिट चौडाईमा निर्माण हुन लागेको नमुना सडकमा कालोपत्रेको सट्टा टायल खापिने दमक नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले जानकारी दिए।

सवै प्रकार सवारी साधनहरुलाई प्रबेश निषेध हुने गरी निर्माण गर्न लागिएको सो सडकको दुवै किनारामा फूलबगैचा, वृक्षारोपण, खानेपानी तथा फलैचा समेत निर्माण हुने भएको छ । सो सडक खण्डलाई २४ घण्टा उज्यालो बनाई राख्न सोलार बत्तीसमेत राखिने नगरपालिकाले जनाएको छ । त्यस्तै सो क्षेत्रमा मनोरम प्रदान गर्न पानीको फोहोरा समेत निर्माण हुने जनाइएको छ ।
भारतको सिक्किममा निर्माण गरिएका सडकको नक्कल गर्दै दमक नगरपालिकाले पनि यो अवधारणालाई अगाडि ल्याएको दमक नगर पालिकाका कार्यकारी प्रमुख युवराज दाहालले जानकारी दिए ।
समितिले सोमबारबाट नै सडक किनार सफा गर्ने तथा नाली खन्ने जस्ता प्रारम्भिक काम शुरु भएको समितिका अध्यक्ष पुण्य ढुङ्गानाले जानकारी दिए । निर्माण शुरु भएको कम्तीमा ६ महिना भित्रमा सो मार्गको सम्पूर्ण संरचना सञ्चालनमा आउने अध्यक्ष ढुङ्गानाले बताए।
सो क्षेत्रमा लक्ष्य अनुरुप सवै संरचना पूरा भए यहाँको व्यापारीक चहलपहल बढ्ने स्थानीय व्यवसायी राजकुमार श्रेष्ठ बताउँछन्।


Comments