एक तिहाईको काम, दुई तिहाई चाहिँ झ्वाम




३ बैशाख, दमक।
झापाको दमक—१७ स्थित कञ्चनटोल र भावना टोलको कच्ची वाटोमा ग्राभेलका लागि छुट्टिएको रकम हिनामिना भएको छ ।
दमक नगरपालिकाले आर्थिक बर्ष २०६९/७० को बजेटबाट बाटोको लागि बिनियोजन गरेको १० लाख रुपैयाँ र स्थानीयबाट संकलन गरिएको १ लाख ६४ हजार रुपैयाँ रकम हिनामिना भएको हो ।
कञ्चन टोलदेखि भावना टोलसम्म १.२ किलोमिटर बाटो ग्राभेल गर्नका लागि ११ लाख ६४ हजार रुपैयाँमा अनुमानित ३ लाख रुपैयाँ मात्र उपभोक्ता समितिले खर्च गरेको स्थानीयले आरोप लगाएका छन् । ग्राभेलका लागि ५० ट्रिपर वालुवा-गिट्टी प्रयोग गरेर र ३० घण्टा एक्जाभेटर लगाएर उपभोक्ता समितिले रकम हिनामिना गरेको स्थानीय शम्शेर लिम्बुले बताए। उनका अनुसार ५० ट्रिपर वालुवा गिटी र ३० घण्टा एक्जाभेटर प्रयोग गर्दा अनुमानित ३ लाख रुपैयाँमात्र खर्च हुने गरेको छ ।




रकम हिनामिना गरेर ग्राभेलका लागि कम खर्च गरिएको कारण बाटो गुणस्तरहिन बन्न पुगेको छ । उपभोक्ता समितिका अध्यक्ष हर्कमान धिमाल लगायतको मिलेमतोमा सरकारी कोष र स्थानीय उपभोक्ताबाट उठाइएको रकमको हिनामिना भएकोले स्थानीयले अख्तियारमा समेत उजुरी दिएका छन् । अख्यितार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा रकम हिनामिना उपर कारवाही गरी पाउँ भनी स्थानीयले उजुरी दिएका हुन् ।
स्थानीयका अनुसार ग्राभेल गर्दाको हिसाव सार्वजनिक गर्न र सन्तोषजनक काम नभएको भनी गुनासो गर्दा उपभोक्ता समिति जवाफ नदिई पन्छिने गरेको छ।

उक्त ग्राभेल मावा खोलाले बगाएको कारण पुनः गाभ्रेल गर्नको लागि उपभोक्ता समितिले नगरपालिकामा बजेट माग गरिरहेको पनि थाहा हुन आएको बताइएको छ ।




Comments