२२ चैत, बिर्तामोड।
एकीकृत नेकपा माओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले कांग्रेस एमालेले दुई तिहाईबाट संविधान पारित गर्न नसक्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघ झापाले आइतवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा गजुरेलले राप्रपा एकीकरण र आदिवासी जनजातिले संचालन गर्ने 'ककस'का कारण संविधानसभामा दुई तिहाई मत पुग्न नसक्ने बताएका हुन् । संविधानसभाको प्रक्रिया अघि बढाएपनि संविधान पास हुन नसक्ने कांग्रेस एमालेलाई थाहा भएको गजुरेलले जिकिर गरे । प्रक्रिया अघि बढाएर कांग्रेस एमाले ३० दललाई गलाउने, थकाउने योजनामा रहेको उनको भनाई थियो । गजुरेलले राजावादी पार्टीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशीता लगायतका बिषय उल्ट्याउन चाहेको बताए ।
गजुरेलले सहमतिको बिकल्प नभएको चर्चा गर्दै सत्तापक्षलाई सहमतिमा ल्याउन आन्दोलन गर्नु परेको बताए । उनले आन्दोनकारी शक्ति बिभाजित भएर कहिँपनि संविधान नबनेको बताए । उनले भने 'आन्दोलन हाम्रो बाध्यता हो, सहमतिका लागि दवाव सिर्जना गर्नु आन्दोलनको मुख्य उदेश्य हो ।'
सभाषद्समेत रहेका नेता गजुरेलले कांग्रेस एमालेले माओवादी र मधेसवादी दललाई अलग गरेर संविधान घोषणा गर्न नसक्ने स्पस्ट पारे । माओवादी संविधानसभाबाटै संविधान बनाउनु पर्छ भन्ने पक्षमा रहेको बताए । उनले कांग्रेस र एमालेले माओवादीलाई संविधानसभा बिरोधीको रुपमा प्रचार गरेको जिकिर गरे । उनले भने 'माओवादी संविधानसभा बिरोधी होइन, कांग्रेस एमालेले हामीलाई अलग गरेर संविधान बनाउन सक्दैनन् ।'
एमाओवादीसहितको ३० दलीय मोर्चाको दोस्रो चरणको आन्दोलनको तयारीका लागि पूर्वी जिल्ला दौडाहामा रहेका नेता गजुरेलले सत्तापक्ष प्रक्रियामा गए मुठभेड निम्तने चेतावनी दिए । मुठभेडबाट हुने अनिष्ट रोक्न आन्दोलन गर्नुपरेको उनको भनाई थियो । सभामुख सुभाष नेम्वाङको भूमिका निश्पक्ष नभएको गजुरेलले बताए । उनले नेम्वाङ कांग्रेस एमालेको मोहरा बनेको आरोप लगाए ।
माओवादीले जातीय कुरा नगरेको गजुरेलको तर्क थियो । उनले कांग्रेस एमालेले माओवादीले जातीय कुरा गर्यो भनेर भ्रम फैलाएको आरोप लगाए ।

Comments
Post a Comment