दमकमा मल्टी मार्शल आर्ट एकेडमी सञ्चालनको तयारी



६ बैशाख, दमक।
मार्शल आर्ट खेलको विकास गर्ने उद्देश्यले झापाको दमकमा सगरमाथा मल्टी मार्शल आर्ट एकेडमी सञ्चालनमा आउने भएको छ ।
दमक-१५ स्थित चियादोकान चोकनजिकै एकेडमीको सुविधासम्पन्न भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । झण्डै ४ कठ्ठा क्षेत्रफलभित्र करिब २ करोड ५० लाख रुपैयाँको लागतमा हाल ५ तले एकेडमी भवनको निर्माण कार्य भइरहेको एकेडमीका अध्यक्ष दिपक धिमालले बताए । उनले आउँदो जेठदेखि सवै पूर्वाधारहरु निर्माण पूरा हुने र लगत्तै सञ्चालनमा आउने बताए ।




भवनको पहिलो तलामा जिमहल र दोस्रो तलामा तेक्वान्दो, व्याडमिण्टनका खेलहरु हुने अध्यक्ष धिमालले जानकारी दिए। यसका साथै एकेडमी परिसरभित्र पौडी र व्याडमिन्टन खेलका लागिसमेत संरचनाहरुको निर्माण गरिने धिमालले जानकारी दिए । सगरमाथा डोजाङ यूकेबाट सम्बन्धन प्राप्त गरी नेपाल राष्ट्रिय खेलकुद परिषदको सदस्य भएसँगै सो एकेडमीले निकट भविष्यमा युकेमा हुन लागेको विश्व कप च्याम्पियनका लागि १० जना नेपाली खेलाडीहरु पठाउन लागेको धिमालले जानकारी दिए । सो खेलमा भाग लिन जाने खेलाडीहरुका लागि चाँडै नै प्रशिक्षण कक्षा सञ्चालन हुने भएकोसमेत धिमालले जनाए ।
सो प्रशिक्षण एशियन सिल्भर मेडलिष्ट रिना धिमालले दिने जनाइएको छ । मुलुकभरवाट सो खेलमा सहभागिता जनाउन पाउने भएकाले सवै क्षेत्रका खेलाडीहरुलाई प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणमा सहभागीहरुमध्ये उत्कृष्ट १० जना खेलाडीहरुले सन् २०१६ मा युकेका हुन लागेको विश्व तेक्वान्दो च्याम्पियनसीप खेलमा सहभागीता जनाउने अध्यक्ष धिमालले जानकारी दिए ।


Comments