आइडल बन्न भोट माग्दै दिपेश




खोटाङ, उदयपुर हुँदै हाल मोरङकत्र बाहुनीमा बस्दैआएका दिपेश पायल राईमा बालापनदेखि नै संगीतको नशा लागेको थियो । त्यही भएर त्यसताका रेडियोमा जुन गीत बज्थ्यो जस्ताको त्यस्तै गाउन प्रयत्न गरिहाल्थे । यही संघर्ष र जुझारुपनले आज उनी पूर्वाञ्चल आइडलको टप ४ मा पुग्न सफल भएका छन् । बागिना कला केन्द्र धरानको आयोजनामा भइरहेको पूर्वाञ्चल आइडलमा विजयी हुन उनी अहोरात्र खटिरहेका छन् । पूर्वाञ्चलका स्टेज प्रोग्रामहरुमा प्रस्तुति दिँदै आफूलाई भोट गरेर विजयी गराउन उनले सबैसामु दुई हात जोडेर आग्रहसमेत गरिरहेका छन् । मोरङ बयरवनको थप्परसिंह महाराज मेला सांगीतिक कार्यक्रममा भेटिएका उनी भन्दै थिए, 'म सयौं प्रतिस्पर्धीहरुबाट टप ४ मा पुग्न सफल भएको छु । त्यसैले मलाई तपाईहरुको सहयोगको खाँचो छ । कृपया मलाई भोट गरी पूर्वाञ्चल आइडल बनाउनुहोला ।'



'टप ४ सम्मको यात्रा कस्तो रह्यो?' भन्ने प्रश्नमा उनले भने, 'मेरो बाल्यकालदेखिको गायक बन्ने सपना अब साकार पार्ने प्रयत्न गरिरहेको छु । यहाँसम्म आइपुग्दा धेरै नै संघर्ष गरेको छु ।' कहिले भोकै, कहिले अपुरो निन्द्रा त कहिले गालीगलौज खानुपरेको छ । यति बिघ्न बाधा अड्चन झेल्दै पनि उनी संगीतमै निरन्तर लागिपरेका छन् । किनकि आफ्नो बालापनको सपना साकार पार्न ।
उनले पूर्वाञ्चल आइडलको यहाँसम्मको यात्रा तय गर्न प्यारो खोटाङ..., देशले रगत मागे..., यहाँ देशको छ चिन्ता..., झस्केर दुख्छ यो मुटु मेरो... लगायत मर्मस्पर्शी गीतहरु प्रस्तुत गरी निर्णायकको मन जितेका छन् ।
काठमाडौंको सातदोबाटोस्थित सुम्निमा कल्चरमा शास्त्रीय संगीत सिकेका उनी आधुनिक गीतहरु गाउन औधी रुचाउँछन् । नेपाली सुगम संगीतका चर्चित गायकहरु राजेश पायल राई, दिपक लिम्बू, भक्तराज आचार्य लगायतको गीत गाउन रुचाउने दिपेश भविष्यमा एक सफल गायक तथा संगीतकार बनेर नेपाली सांगीतिक आकाशमा छाउने उनको भित्री चाहना छ । देशको लागि गीत गाउन रुचाउने दिपेशलाई पूर्वाञ्चल आइडल बनाउन मोबाइलको म्यासेज बक्समा गई PSC Space 14 टाइप गरी 3264 मा पठाई गरी भोट गर्न सकिनेछ ।
प्रस्तुति - सन्तोष राई



Comments