दमकबाट झापा पोष्ट दैनिक निस्कँदै, झापामा १३८ पुगे




२४ चैत, दमक।
झापाको दमकबाट नयाँ दैनिक पत्रिका प्रकाशन हुने भएको छ । दमकका युवा व्यवसायीक पत्रकारहरुको अगुवाईमा 'झापा पोष्ट' दैनिक प्रकाशन हुने भएको हो ।
आगामी नयाँ बर्षको पहिलो दिनदेखि पत्रिकाले औपचारिक रुपमा नियमितता पाउने पत्रिकाका कार्यकारी सम्पादक विष्णु सुब्बाले बताए । पत्रिकाको नमुना अंक यही चैत २८ गते प्रकाशित हुने पत्रकार सुब्बाले जनाए । पत्रिकाको कार्यालय दमक-११ स्थित पूरानो मालपोत कार्यालय अगाडी कार्यालय रहने जनाइएको छ ।
योसँगै दमकमा तीनवटा दैनिक पत्रिका हुने जनाइएको छ । पत्रिकाको सम्पादक तथा प्रकाशकमा रेगिना भट्टराई रहेकी छन् । पत्रिकाले स्थानीय समस्याहरुको उठान तथा निष्पक्ष, मर्यादित पत्रकारितामा जोड दिने जनाइएको छ ।


जिल्लामा १३८ वटा दर्ता
झापामा गएको पाँच दशकको अवधिमा १३८ वटा पत्रिका दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा २०२० सालयता हालसम्म १३८ ओटा पत्रिका दर्ता भएका छन् । सो अभिलेखमा २०२० साल भाद्र १७ गते भवानी प्रसाद घिमिरे सम्पादक तथा प्रकाशक रहेको एक त्रैमासिक पत्रिका दर्ता भएको उल्लेख छ । यस्तै पछिल्लो पटक सुरेन्द्र लिम्बु सम्पादक रहेको साझा लिम्बुवान साप्ताहिक दर्ता भएको स्थानीय प्रशासन शाखाका प्रशासकीय अधिकृत यज्ञ आचार्यले जानकारी दिए । चालु आर्थिक बर्षको हालसम्मको अवधिमा लोकतन्त्र पोष्ट दैनिक र साझा लिम्बुवान साप्ताहिक पत्रिका दर्ता भएका छन् । दर्ता भएका अभिलेखमा दैनिक पत्रिकाको संख्या एक दर्जन पुगेको छ भने अधिकांश साप्ताहिक, मासिक र त्रैमासिक छन् ।
दर्ता भएका पत्रिकामध्ये विर्तामोडमा ४ वटा, मेचीनगरबाट दुई र दमकबाट तीनवटा दैनिक रहेका छन् ।




Comments