२१ चैत, दमक।
झापाको दमक-१९ मा रहेको पर्यटकीय स्थल इन्द्रेणीताल सिमसारलाई व्यवस्थित गरिने भएको छ ।
सरोकार निकायहरुले आज पहिलोपटक सो विषयमा छलफल तथा स्थलगत अवलोकन गरेका छन् । संविधानसभाका सभासद महेन्द्र कुमारी सुव्वा, दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल लगायतको टोलीले सो क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।
स्थलगत अवलोकनपछि ताललाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित सरोकारवाला तथा जग्गाधनीहरुसँग छलफलसमेत भएको छ । इन्द्रेणीताल सिमसार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद दाहालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सभासद महेन्द्र कुमारी सुव्वाले तालको दिगो विकासका लागि पहल शुरु भइकेको बताइन्। तालको व्यवसायिक विकासका लागि सम्बन्धित निकायहरुसँग सहयोग र सहकार्यमा कार्यक्रम अगाढि बढाइने सभासद सुब्बाको भनाई थियो ।
दमक नगरपालिकाका कार्यकारी अधिकृत युवाराज दाहालले स्थानीय साधन र स्रोतको भरपुर उपयोग गर्दै स्थानीय क्षेत्रको दिगो विकासका लागि ताल कोशेढुङ्गा हुने भएकाले यसलाई एकहप्ता भित्रमा सम्बन्धित विषयका विशेषज्ञहरुको सहयोगमा तालको दिगो विकासका लागि गुरु योजना तयार गरिने बताए। आधुनिक र सभ्य शहर निर्माणका लागि अतिनै आवश्यक पर्ने सिमसार तथा ताल तलैयाहरुको स्वरुप र संचरनाहरुलाई विग्रन नदिने गरी कार्यक्रम अगाडी बढाउने दाहालले बताए।
स्थानीय सरोकारवालाहरुले नगरपालिकाले अगाडी सारेको ताल संरक्षणको योजनालाई स्वागत गरेका थिए ।

Comments
Post a Comment