'मधेसवादी दलको माग भारतको हितमा'



४ बैशाख, दमक।
संविधान सभाका सदस्य पर्तमान धिमालले मधेसी दलले माग गरेको राज्यको पुनर्संरचनाले मुलुकलाई खतरा उत्पन्न भई भारतीय बिस्तारबादलाई सहयोग पुग्ने बताएका छन् ।
आज दमक ९ अडियामलस्थित धिमाल महाराज स्थानमा बन्न लागेको धिमाल समुदायको जागराम घरको शिलान्यास कार्यक्रममा बोल्दै सभासद धिमालले एक मधेस एक प्रदेश जस्तो मागले प्रदेशले राष्ट्रियता खतरामा पर्ने बताएका हुन्। हिमाल, पहाड र तराई सबैलाई समेटेर बनाएको प्रदेशले मात्र राष्ट्रको हित गर्ने धिमालको भनाई थियो।
नेकपा एमालेका नेतासमेत रहेका उनले सम्पूर्ण जाति, भाषा, धर्मलाई सुहाउँदो संविधान चाँडो जारी गर्ने बताए।


धिमाल जाति बिकास केन्द्रको झापा क्षेत्र नम्वर २ को इलाका कमिटीले आयोजना गरेको जागराम घरको शिलान्यास कार्यक्रममा बोल्दै दमकका समाजसेवी केन्द्र प्रसाईंले अरुको भर पर्नेभन्दा पनि धिमाल समुदाय आफैंले लागि पर्नुपर्ने बताए। सामुहिक काम गर्न सबैले चासो दिनु पर्ने उनको भनाई थियो।
भूमिहिन सुकुम्वासी संस्थाका केन्द्रीय सदस्य बम बहादुर धिमालले महाराज स्थानलाई पर्यटकीय स्थल बनाउनु पर्ने बताए। केन्द्रका झापा सचिव नेत्रकुमारी धिमालले महाराजस्थान जस्तो सम्पदा धिमाल समुदायको मात्र नभएर दमक नगरबासीको भएको बताइन्।
सोम धिमालको अध्यक्षतामा भएको कार्यक्रममा जागराम घर निर्माण समितिका अध्यक्ष मणि धिमालले एकतल्ले जागराम घरको निर्माणको लागि ३ लाख रुपैयाँ दमक नगरपालिकाको लगानी र ५ लाख रुपैयाँ उपभोक्ताको लगानी रहेको जानकारी दिए।
कार्यक्रममा केन्द्रको झापा क्षेत्र नम्वर २ को अध्यक्ष दयाराम धिमाल, दमक ९ का पूर्व वडाध्यक्ष रौढ बहादुर बुढाथोकी लगायतले बोलेका थिए।




Comments