सडक आन्दोलनबाट शान्ति र संविधान असम्भव - मन्त्री साउद



२२ चैत, दमक।
सिचाईमन्त्री एनपी साउदले शान्ति र संविधान निर्माणका लागि एमाओवादी प्रतिवद्ध नभएको आरोप लगाएका छन् । मन्त्री साउदले एमाओवादीको अनुदारपूर्ण रवैयाले संविधान निर्माण प्रकृया लम्बिदै गएको बताए।
संविधान निर्माण गर्ने एक मात्र थलो संविधानसभा भएको भन्दै मन्त्री साउदले सोही थलोबाट नै शान्ति र संविधान निर्माण गर्न एमाओवादी मोर्चाको गम्भीर बन्नुपर्ने बताए। विपक्षी मोर्चाले गरेको सडक आन्दोलनबाट शान्ति र संविधान निर्माण कार्य पूरा गर्न असम्भव भएको उनको टिप्पणी थियो ।
आज विहान नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रिय समितिले झापाको दमकमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री साउदले संविधानसभालाई अपमान गरेर सडकमा उफ्रदैमा संविधान नबन्ने जिकीर गरे ।



उनले भने, 'सडक आन्दोलनबाट संविधान लेखन प्रकृया पूरा हुन सक्दैन।' विपक्षी मोर्चाले गर्ने आन्दोलनले शान्ति र संविधान निर्माण प्रकृया प्रभावित हुन पुगेको उल्लेख गर्दै उनले सडक आन्दोलन त्यागेर संविधान निर्माणमा जुट्न खाँचो रहेको औंल्याए। उनले संविधान लेखन प्रकृया ओझेलमा पार्न नदिन कांग्रेस, एमालेलगायतका दलहरु एक भई अधिकतम सहमती गरेर संविधान निर्माण हुनेमा जोड दिए ।
चैत २३ गते बस्ने संविधानसभाको बैठकले देशलाई संक्रमणबाट मुक्त गराउन नयाँ कदम थाल्ने मन्त्री साउदको विश्वास थियो । अव अधिकतम सहमती नभए प्रकृयाबाट भएपनि जति छिटो संविधान जारी गरिनु पर्ने साउदको भनाई थियो । उनले एमाओवादी लगायतका विपक्षी मोर्चाले संविधान जारी गर्न आन्दोलन त्यागेर सहकार्यको पक्षमा स्पष्ट उभिन आग्रह गरे।
एक फरक प्रसङ्गमा उनले झापामा सिंचाई सेवालाई प्रभावकारी बनाउन सरकारले उच्च प्राथमिकता दिने बताए। मन्त्री साउदले जिल्लालाई बाह्रैमास सिंचाई सुविधा पुर्‍याउन सरकारले झापामा विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे। उनले भने, 'यहाँका कृषकहरुका सिंचाई समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ।' उनले जिल्लाको माथिल्लो किस्ने र तल्लो किस्ने सिचाई योजना ल्याउन तथा भूमिगत सिचाईलाई समेत त्यतिकै महत्व दिएर काम थाल्ने आश्वासन दिए।
यसैगरी मन्त्री साउदले दमकको रतुवा, मावा खोला र धरमपुरमा पर्ने कमल खोलाले गर्दै आएको कटान क्षेत्रको अवलोकन गरेका थिए। त्यस क्रममा मन्त्री साउदसँग खोला प्रभावित क्षेत्रका बासिन्दाहरुले खोलाको दीर्घकालीन नियन्त्रण तथा सहज सिचाईं सुविधा लगायतका माग राखेका थिए ।






Comments