एमालेले कुनैपनि हालतमा देशलाई द्वन्द्वमा जान दिँदैन - पोखरेल



२८ चैत, उर्लाबारी।
नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले नेपाललाई एमालेले कुनैपनि हालतमा द्वन्द्वतर्फ जान नदिने बताएका छन् ।
नेपालमा जातीय राज्य दिएर द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको बताउँदै उनले त्यो प्रयासलाई एमालेले कदापि पूरा हुन नदिने बताए । मोरङको उर्लावारीमा शनिबार नेकपा एमाले उर्लावारी नगर कमिटिले आयोजना गरेको नयाँ वर्ष २०७२ सालको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पोख्रेलले देशभर एमालेको जनलहर बढेकाले जनताको एमालेप्रतिको विश्वास कुनै पनि हालतमा टुट्न नदिने बताए । महासचिव पोख्रेलले एमाओवादीका लागि अहिलेको संविधानसभा निकै 'घाँडो’ भएको समेत उल्लेख गरे ।




१० वर्षको जनयुद्धको बेलामा संविधानसभा चाहियो भन्दै हिँड्ने माओवादी अहिले आएर संविधानसभालाई असफल पार्नेतर्फ लागिपरेको उनले आरोप लगाएका थिए । उनले भने, 'नेपाल विभिन्न जातजाति, भाषभाषी भएको देश भएकाले जातीय राज्यको कल्पना समेत गर्न सकिँदैन । उनले जातीय राज्यले देशलाई पुनः द्वन्द्वतर्फ डोर्‍याउने बताउँदै नेकपा एमाले त्यसतर्फ देशलाई कदापी जान नदिने अठोट ब्यक्त गरे । हिमाल, पहाड र तराईलाई मिलाएर राज्यको पुनसंरचना गर्नुपर्नेमा जोड दिँदै उनले पहाड र तराईलाई छुट्याएर कुनैपनि हालतमा राज्य बनाउन नसकिने बताए । कार्यक्रममा बोल्दै मोरङ १ का एमाले सभासद ऋषिकेश पोख्रेलले दास्रो संविधानसभाबाटै नेपाली जनताले संविधान पाउने दाबी गरे । नेकपा एमाले सहमतिको संविधानमा अधिकतम प्रयासरत रहेको बताउँदै उनले त्यसो नभएको खण्डमा बहुमतीय प्रक्रियाबाट भएपनि संविधान जारी गरिने बताए ।

एमाले मोरङका सचिव समेत रहेका सभासद पोख्रेलले नेकपा एमाले आगामी चुनावमा देशकै पहिलो शक्ति हुने ठोकुवासमेत गरेका थिए । कार्यक्रममा बोल्दै एमाले पूर्व केन्द्रीय सदस्य राजेन्द्र गौतम, एमाले मोरङका अध्यक्ष महेश रेग्मी, सह-सचिव विद्या चाम्लिङले २०७२ मा नेपालले नयाँ संविधान पाउनेमा आफूहरु आशावादी रहेको बताएका थिए । उर्लाबारीस्थित हाम्रो बचत सहकारीको सभाहलमा भएको कार्यक्रममा एमाले मोरङका सचिवालय सदस्य भूपाल जिमी, जिल्ला सदस्य लक्ष्मी भण्डारी, मोरङ ९ का क्षेत्रीय अध्यक्ष गंगाप्रसाद बाँस्तोला, पूर्व क्षेत्रीय अध्यक्ष उपेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम एमाले उर्लाबारीका नगर अध्यक्ष मनोरथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




Comments