झापामा राहत संकलन र प्रदानमा एकरूपता अपनाइने



१४ बैशाख, बिर्तामोड।
विध्वंशकारी महाभूकम्पका पीडितहरुलाई झापाबाट संकलन गरिने राहत र प्रदान गरिने प्रक्रियामा एकरुपता अपनाउने सरोकारवालाहरुबीच सहमति भएको छ ।
नेपाल पत्रकार महासंघ झापाको संयोजनमा सोमबार विहान बिर्तामोडमा भएको छलफलमा राहत संकलन र प्रदानमा एकरुपता अपनाउँदै तन्ना लिएर जथाभावी राहत संकलन गर्ने कार्यलाई निरुत्साहित गरिने बताइएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले झापामा भूकम्पबाट एक सय घर चर्किएर क्षति पुगेको तथा एउटा घर भत्किएको सूचना आएको जानकारी दिए । उनले एक सय बोरा चिउरा, १२ हजार लिटर पानी, ३५ सय सोलार लाईट सेट र १० हजार थान टेन्ट झापाबाट राजधानी पठाउन लागेको बताए ।



पत्रकार महासंघका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको छलफलमा साहयक प्रमुख जिल्ला अधिकारी तथा महाभूकम्पका लागि झापाका फोकल पर्सन रोहितराज पोखरेलले त्रास र आतंक फैलाउने होइन संयम र धैर्यता बढाउने समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे । झापाका प्रहरी प्रमुख रवीन्द्रनाथ रेग्मीले झापामा कुनै मानवीय क्षति नहुनुले झापावासीले आफूलाई भाग्यशाली ठान्नु पर्ने बताउँदै सक्दो राहत संकलनमा जुट्न आग्रह गरे ।
रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले अहिले जिल्लामा घाइतेको उपचारका लागि पठाउन चार सय पोका रगत तयारी रहेको जनाउँदै विपदका बेला सञ्चारमाध्यमले मानवीय संवेदनामा सहयोग पुग्ने भूमिका निर्वाह गर्नु पर्ने बताए ।
पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले औचित्यमाथि प्रकाश सहित सञ्चालन गरेको छलफलमा सञ्चारमाध्यमले राहत संकलन र विपदको बेला संयमता अपनाउन सक्ने सामग्रीलाई प्राथमिकताका साथ सम्प्रेषण गर्नु पर्नेमा जोड दिइयो ।
सञ्चार क्षेत्रका अगुवाहरुले मानसिक प्रताडना र त्रासदीपूर्ण समाचार तथा सामग्री रोक्नु पर्ने बताउँदै सत्य तथ्य सूचना सम्प्रेषणमा जोड दिए ।

कार्यक्रममा पत्रकारहरु मदन ढकाल, मोहनकाजी, कृष्ण हुमागाई, माधव विद्रोही, तरामणि सापकोटा, गोपाल काफ्ले, दिपीन राई, ज्ञानेन्द्र निरौला, राजेन्द्र गौतम, उमाकान्त खनाल, सन्तोष अग्रवाललगायतले विभिन्न सुझाव राखेका थिए । सो अवसरमा झापा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष बलराम कार्की, नेपाल जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष विनोद बस्नेत लगायतले राहत संकलनलाई तीब्र पार्नु पर्नेमा जोड दिए ।
छलफलले जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघमार्फत सञ्चारमाध्यममा महाभूकम्प सम्बन्धी सत्य सूचनाहरु सम्प्रेषण गरिने जसबाट एकरुपता कायम गर्न सजिलो हुने निष्कर्ष निकालेको छ ।
मुलुकमा परेको विपत्तिका बेला उल्लेख्य राहत संकलन गरेर झापाले गतिलो उपस्थिति जनाउनु पर्ने साझा धारणासमेत उक्त अवसरमा बनाइयो । रेडक्रस, वाणिज्य संघ तथा अन्य सामाजिक संस्थाको अगुवाईमा प्रशासनसंग समन्वय गरी राहत संकलन तीब्र पारिने बताइएको छ ।



Comments