व्युटिसियनका प्रशिक्षार्थीलाई निःशुल्क औजार वितरण




मनोज लामिछाने
११ बैशाख, बिर्तामोड।
सीपमूलक तालिम पूरा गरी व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेका प्रशिक्षार्थीहरुलाई बिर्तामोडस्थित झापा प्राविधिक शिक्षालयले शुक्रबार एक कार्यक्रमका बीच निःशुल्क औजार वितरण गरेको छ ।
रोजगार कोषको सचिवालय हेल्भटास नेपालको सहयोगमा झापा प्राविधिक शिक्षालयले सञ्चालन गरेको समृद्धिको बाटो कार्यक्रमअन्तर्गत असिस्टेन्ट व्युटिसियन तह एक तालिमका प्रशिक्षार्थीहरुलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने औजार वितरण गरिएको हो ।
प्राविधिक शिक्षालयले २०७१ पुसदेखि चैतसम्म सञ्चालन गरेको असिस्टेन्ट व्युटिसियनको तालिम पूरा गरेका २० जनालाई प्रतिव्यक्ति आठ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो । कार्यक्रममा प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक देवराज बरालले व्युटिसियनका प्रशिक्षार्थीलाई हेयर ड्रायर, हेयर आइरन, ट्रलि, थ्रेडिङ चेयर लगायतका औजार वितरण गरेका हुन् ।




औजार वितरण कार्यक्रममा रोजगार कोषको सचिवालय हेल्भटास नेपालका प्रतिनिधि दुर्गालाल राईले प्रशिक्षार्थीहरुलाई व्यवसाय सञ्चालनका क्रममा सीपसँगै इमान्दार र लगनशील भएर लाग्न आग्रह गरे । उनले अहिलेको प्रतिस्पर्धात्मक समयमा सीपप्रति समर्पित भएर लाग्न सके प्रशिक्षार्थीहरुलाई आफ्नो जीवन सफल बनाउन सजिलो हुने धारणा राखे । कार्यक्रममा शिक्षालयका प्रतिनिधि हरि बरालले तालिमसँगै वितरण गरिएको औजारले प्रशिक्षार्थीलाई व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने धारणा राखे । उनले संस्थाबाट लिएको सीपलाई रोजगारीमा परिणत गर्न सके जीवनमा खुसीयाली ल्याउन सकिने समेत बताए ।



Comments