आन्दोलन छाडेर वार्तामा आउन मोर्चालाई सिटौलाको आग्रह




२० चैत, दमक।
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आन्दोलनरत तीस दलिय मोर्चालाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गरेका छन् । सडक आन्दोलन गर्दै आएको मोर्चाका कारण संक्रमणकाल झनै लम्बिदै गएको टिप्पणी गर्दै महामन्त्री सिटौलाले आन्दोलन छाडेर नयाँ संविधान बनाउन सक्रिय हुनुपर्ने बताए।
एमाओवादीका कारण नै संविधान निर्माणको प्रकृयाले गति लिन नसकेको सिटौलाको भनाई थियो । सडकबाट संविधान कहिल्यै नबन्ने जिकिर गर्दै उनले जनप्रतिनिधिमुलक संविधानसभामार्फत नै सहमति र सहकार्य गरेर संबिधान निर्माण गर्नुको विकल्प नभएको उल्लेख गरे ।




झापाको दमकमा आज शुक्रबार नेपाली कांग्रेस दमकले आयोजना गरेको नयाँ बर्षको क्यालेण्डर बिमोचन तथा शुभकामना आदान-प्रदान कार्यक्रममा महामन्त्री सिटौलाले मुलुकलाई लोकतान्त्रिक प्रकृयाबाट अगाडी बढाउन दलीय सहमतीमा कांग्रेसले जोड दिदै आएको बताए। सिटौलाले संविधान कुनै पार्टीको एउटा वर्ग, समुदायको मात्र सीमित नहुनेमा कांग्रेस प्रतिवद्ध भई अघि बढे्को बताए।
सोही अवसरमा सिटौलाले कांग्रेस दमक नगर समितिले निकालेको २०७२ सालको क्यालेण्डरको विमोचनसमेत गरेका थिए।
तीन बर्षदेखि कांग्रेस दमकले नयाँ बर्षको क्यालेण्डर प्रकाशन गर्दै आएको छ ।

सो कार्यक्रममा सभासद महेन्द्रकुमारी सुब्बा, नेपाली कांग्रेस झापाका उपसभापति देउमान थेवे, युवानेता बिश्व प्रकाश शर्मा, कांग्रेस झापाका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा, क्षेत्रीय सभापति शेरबहादुर भट्टराई, महासमिति सदस्यहरु सुरेश सुब्बा, राजन ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।
पार्टी नगर सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागी वक्ता नेताहरुले कांग्रेसले संविधान निर्माणको प्रकृयामा अगुवाको भूमिका निर्वाह गर्नुपर्ने विचार राखेका थिए ।

फोटो क्याप्सन - क्यालेण्डर विमोचन गर्दै महामन्त्री सिटौलाले ( फोटो - विष्णु सुब्बा)


Comments