आन्दोलनकारीद्वारा मालपोत कार्यालय र तीर्थयात्री बोकेको बस तोडफोड, दुई पक्राउ





२४ चैत, दमक।
बन्दका क्रममा तोडफोड गर्ने दुईजना आन्दोलनकारीलाई आज दिउँसो दमकबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वाईसीएलका क्षेत्रीय सचिव शंकर रोक्का र वाईसीएल नगर उपाध्यक्ष प्रकाश पोख्रेल रहेका छन् । उनीहरूलाई प्रहरीले दमकको चोकबाट पक्राउ गरेको हो। नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

यसैवीच प्रहरीले आफ्ना कार्यकर्ताहरुलाई हस्तक्षेप गरी नियन्त्रणमा लिएको भन्दै तीस दलीय मोर्चाले भर्त्सना गरेको छ । आज अपरान्ह मोर्चाले संयुक्त विज्ञप्ती निकालेर पक्राउ परेकाहरुलाई विनासर्त रिहाई गर्न माग गरेको छ । मोर्चाले सडकमा पत्रकार सम्मेलन गरेर पकराउ परेकाहरूको रिहाईको माग गरेको हो ।



यसअघि तीस दलिय मोर्चा सम्बद्ध कार्यकर्ताहरुले झापाको दमकमा रहेको मालपोत कार्यालयसहित एउटा बसमा तोडफोड गरेका छन् ।
आमहड्ताल उल्लङ्घन गरेको भन्दै दमक-९ मा रहेको मालपोत कार्यालय र दमकको रतुवा पुल सडकखण्डमा एउटा यात्रुवाहक बसमा बन्दकर्ताहरुले तोडफोड गरेका हुन् ।
बन्दकर्ताले मालपोतको सुचना अधिकृतको कोठामा तोडफोड गर्दा सूचना अधिकृतको कोठा नम्बर ३ मा रहेको टेवल फुटेको कार्यालयका प्रमुख डाक्टर बच्चुराम कार्कीले जानकारी दिए ।

त्यस्तै, बन्दकर्ताहरुले ताप्लेजुङबाट काठमाण्डौ जाँदै गरेको तीर्थयात्री सवार बा ३ ख २२९९ नम्बरको यात्रुवाहक बसमा तोडफोड गरेका हुन् ।

आमहडतालका कारण दमकका सरकारी कार्यालयसहित बजार तथा कलकारखाना पूर्ण रूपमा बन्द रहे। बन्दले जनजीवन असमान्य भएको भन्दै स्थानीयहरुले बन्दको विकल्प खोज्न आग्रह गरेका छन् ।



Comments