हङकङमा पुर्खादिवस मनाइयो



५ अप्रिल, हङकङ।
पुर्खाले गरेको योगदानलाई सम्झदै आज हङकङमा पुर्खादिवस सम्पन्न भएको छ ।
गोर्खा सिमेट्री ट्रष्टको आयोजनमा बृहत नेपाली एवं विभिन्न मूलका मानिसहरुको सहभागितामा सो दिवस मनाइएको हो ।
गएका वर्षहरु जस्तै व्यवस्थित रुपमा आयोजित कार्यक्रममा अस्थायी रुपमा निर्माण गरिएको स्तम्भमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरू, तिनका अभिभावक, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, स्थानीय नेता, विदेशी मूलका शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न विश्वविद्यालयका प्रोफेसर र विद्यार्थीहरु, लेखक, बुद्धिजिवी, भूपू सैनिक र तिनका परिवारहरुको उपस्थिति रहेको थियो ।



बृटिश गोर्खा भूतपूर्व सैनिक संघका कार्यवाहक अध्यक्ष अशोक गुरुङ प्रमुख अतिथि, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिङ विशेष अतिथिको रुपमा उपस्थित थिए । हङकङ स्काउटको प्रतिनिधिको पनि कार्यक्रममा उपस्थिति थियो ।
हङकङमा पुर्खा दिवस गोर्खालीहरुको समाधिस्थल रहेको सान तिन गोर्खा सिमेट्रीमा हरेक वर्ष पुर्खाहरुको योगदानलाई कदर गर्दै पुर्खादिवस यहाँका नेपालीहरुले मनाउँदै आएका हुन् ।

गोर्खा सिमेट्री ट्रष्टका अध्यक्ष नरहाङ राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हङकङ नेपालीज फाउण्डेशनका अध्यक्ष किसन राईले स्वागत मन्तव्य सहित कार्यक्रम बारेमा प्रकाश पारेका थिए। । सिमेट्रीका अध्यक्ष नरहाङ राईले कार्यक्रमको उद्देश्यसहित 'भोट अफ थ्याङ्क्स' दिएका थिए।


कार्यक्रममा पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुल, सिएमए माध्यमिक विद्यालय, बेथल हाईस्कुल, आईकेटीएमसी विद्यालयका विद्यार्थीहरुले पुर्खालाई सम्झदै नेपाली, अंग्रेजी एवं क्यान्टोनिज भाषामा आफ्ना भावनाहरु प्रस्तुत गरेका थिए ।
सन् २००५ देखि हरेक वर्ष ५ अप्रिलका दिनलाई पुर्खादिवसको रुपमा मनाउन थालिएको विशेष दिन हङकङमा भव्यरुपमा आयोजना हुँदै आएको छ । साथै पुर्खादिवस संसारका विभिन्न ठाउँहरुमा पनि त्यहाँ रहेका समाधिस्थलहरुमा गई पुर्खालाई सम्झने प्रयास भइरहेको छ ।

हङकङका सरकारी विद्यालयहरुमा पुर्खादिवस कार्यक्रमलाई विद्यालयको क्यालेण्डर तथा पाठ्यक्रममा समेत संलग्न गराइ पुर्खादिवस मनाउन थालिएको हो ।

गोर्खा सिमेट्रिज ट्रष्टले पुर्खादिवसलाई विश्व पुर्खादिवसको रुपमा विकास गर्दै लैजाने बताएको छ । ट्रष्टका अनुसार बेलायत सरकार, कमनवेल्थ वल्ड ग्रेभ्स कमिशन् र गोर्खा सिमेट्री ट्रष्टको संयुक्त कार्यसम्पादनमा विश्वभर छरिएर रहेका गोर्खा समाधिहरुको पत्ता लगाउँदै तथ्याङ्क निकाल्दै तिनीहरुको संरक्षण र संबर्द्धनको काममा पहल गर्दै लैजाने, सनाखत नभएका गोर्खाहरुको नामावली तयार पार्दै लैजान, नेपाली इतिहासमा यतिञ्जेल छाँयामा पारिएको यति ठूलो गोर्खा हिस्सालाई समुदायबीच ल्याउँदै नेपाली इतिहासलाई परिपूर्णता दिने काममा मद्दत गर्दै लैजाने जनाएको छ ।


हङकङमा सम्पन्न भएको पुर्खादिवसमा पीएच केन्द्रीय प्राथमिक विद्यालय, बेथल हाइस्कुल, सीएमए माध्यमिक विद्यालय, सर एलिस कादुरी माध्यमिक विद्यालय, डेलिया ब्रोड वे, म्याडम लाउ काउ माध्यमिक विद्यालयका नेपाली विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रमलाई हङकङ नेपलीज फाउण्डेशनले संयोजनकारी भूमिका निर्वाह गरेको थियो । फाउण्डेशनले विभिन्न सरकारी विद्यालयहरु, सरकारी विभागहरुसँग मिलेर माइनोरिटिज एवं नेपालीहरुको विषयमा कार्य गर्दै आएको छ । सचिव अमोद राई र देवराज राईले कार्यक्रमको संचालन गरेका थिए।



Comments