दोश्रो दिन पनि भूकम्प आएपछि जनजीवन त्रस्त



१३ बैशाख, दमक।
शनिबार लगातार गएको महाभूकम्पको संत्रास सेलाउन नपाउँदै आइतवार मध्यान्ह पुनः भूकम्प गएपछि दमकसहित पूर्वको जनजीवन प्रभाबित बनेको छ । नेपालको बनेपालाई केन्द्र विन्दु बनाएर दिउसो १ बजेतिर आएको ६ दशमलब ७ रेक्टरस्केलको भूकम्पको पुनः झड्काले सन्त्रास बढेको हो । अघिल्लो दिनको भूकम्पबाट त्रस्त बनेका स्थानीय सर्वसाधारणहरु आज फेरी भूकम्प गएपछि निकै त्रसित देखिएका थिए । भूकम्प आएको थाहा पाएलगत्तै सडक तथा आसपासका खूल्ला स्थानहरुमा मानिसहरुको निकै भीड लागेको थियो । भूकम्पको त्रासदीका कारण यस क्षेत्रका कमजोर संरचनामि रहेका अधिकांश पसलहरु बन्द भएका थिए । सडकहरुमा अन्य दिनहरुमा भन्दा कमैमात्र सवारी साधनहरु चलेका देखिएका थिए ।


दमकका बजार तथा पसलहरुमा मानिसहरुको चहल पहल पनि सदाका दिनहरुमा भन्दा निकै कम देखिएको थियो । शनिवार गएको भूकम्पपछि २४ घण्टाभित्र फेरी अर्को ठुलो भूकम्प जाने सम्भावित खतरा रहेको भन्ने खवरहरुले निकै त्रसित बनेका सर्वसाधारणहरुमा आइतवार भूकम्प आउनासाथ निकै कोलाहाल मच्चिएको थियो ।
दुई दिनसम्म पटकपटक भुकम्पको धक्काको महशुस भइरहेको भएपनि यस क्षेत्रमा कुनैपनि भौतिक तथा मानविय क्षतिभने नभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसैवीच दमकका उद्यमी व्यवसायीहरुको सातदिने लामो अवलोकन भ्रमण छोट्याएर आज फर्कंदै छन् । गत शुक्रवार अवलोकन भ्रमणमा निस्केका यहाँका उद्यमी, व्यवसायीहरु महाभूकम्पले गरेको तहसनहसका कारण बीचैबाट फर्कने भएका दमक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष गोपाल गुरागाईंले जानकारी दिए । मुलुक महाभूकम्पका कारण शोकमा भएको भन्दै संघले भ्रमण स्थगित गरेको गुरागाईले बताए ।




Comments