सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते




२० चैत, दमक।
झापा र मोरङमा भएका सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । ती घटनामा दुईजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका ८ मा बसको ठक्करबाट एक ८७ बर्षीय एक वृद्धको मृत्यु भएको हो।
पूर्व पश्चिम राजमार्गअन्तर्गत बिरिङ्ग खोलाको पुलमा दिउँसो साढे १२ बजेतिर को १ ख ४१८५ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका ६ का ८७ बर्षिय चन्द्र बहादुर अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ।




त्यस्तै झापाको भद्रपुर नगरपालिका १ मा बिहान साढे ७ बजे मे ४ प ४६१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय २२ बर्षिय चन्द्रलाल राजवंशी घाइते भएका छन्। टाउकोमा गहिरो चोट लागेका उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ।
त्यसैगरी आजै बिहान साढे ११ बजे मोरङको बेलबारी ४ स्थित पूर्वपश्चिम राजमार्गमा को ९ प ५८८० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साईकलयात्री कोशीहरैचा नगरपालिका ६ का ६० बर्षिय रामजी महतो घाइते भएका छन्। उनको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।




Comments