सस्तो भारतीय नुन प्रयोग नगर्ने प्रतिवद्धता




४ वैशाख, शिवगञ्ज।
झापाको शिवसताक्षी-३का नागरिकले स्वास्थ्यका लागि आयोडिनयुक्त नुनको सही ढंगले प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय समिति र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रुपमा आज शुक्रबार आयोजना गरेको उपभोक्ता सचेतना कार्यक्रमका सहभागिहरुले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनीहरुले अबका दिनदेखि सस्तो पाउने नाममा गुणस्तरहीन भारतीय नुन प्रयोग नगर्ने, दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुन, त्यो पनि सही समयमा उपयोग गर्ने बताए ।
राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय समितिका अध्यक्ष प्रेमलाल महर्जनले आयोडिनयुक्त नुनको महत्व, प्रयोगको तरिका तथा उपभोक्ताका अधिकारबारे विस्तृतरुपमा जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महर्जनले दुई रुपैयाँको लोभमा नपरी आफ्नो र परिवारको स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै बजारमा स्वादिला खानेकुराका नाममा अखाद्य वस्तु मिसाइएका विष पैसा तिरेर उपभोग गरिरहेको चर्चा गरे ।



कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेसन विराटनगरका क्षेत्रीय प्रमुख नवीनचन्द्र झाले आयोडिनको कमीले लुलो, लँगडो, सुस्त मनस्थिति,गर्भ तुहिने लगायतका समस्या हुने इत्यादिबारे जानकारी गराए ।
त्यस्तै गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख मनीषकुमार दास,
राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय समितिका सदस्य कमल प्रजापति, मञ्च झापाका कोषाध्यक्ष नवीन कोइराला, स्थानीय वुद्धिजिवी अम्बिकाप्रसाद अधिकारी, चन्द्रडाँगी बजारका अध्यक्ष केन्द्रबहादुर बस्नेतलगायतले आयोडिनयुक्त नुनको प्रयोगमा जोड दिएका थिए ।
कार्यक्रम स्थानीय अग्रज प्रकाशचन्द्र गौतमको अध्यक्षतामा भएको थियो । साल्ट ट्रेडिङ कर्पोरेसन बिर्तामोडका प्रमुख देवराज भट्टराईले स्वागत र राष्ट्रिय उपभोक्ता मञ्च झापाका सहसचिव एकराज गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।
स्थानीय १५० बढीको सहभागिता रहेको कार्यक्रममा आयोडिनयुक्त नुन आयोडिन खेर नजाने गरी प्रयोग गर्नुपर्नेमा जोड दिइएको थियो ।





Comments