वस्तुहरु आपसमा ठोक्किएर वा घर्षण भएर आवाज आउँदा पनि संगीतको मिठो आवाज सुन्ने गरेका थिए जोना गुरुङले । त्यसैले त उनी सांगीतिक क्षेत्रमै अडिग रहन सफल र निरन्तर छाइरहेकै छन् । झापा हडिया बुधबारे शान्तिनगरका उनी बाल्यवस्थादेखि नै गीत गुनगुनाउने गर्थे । कक्षा-२ मा अध्ययन गर्दा उनी करिब ७/८ वर्षका थिए रे । त्यस समय आमाको न्यानो अंगालोबाट टाढा भएका उनले धेरै पीडा, व्यथा र अनेकन हण्डर भोगे । अनेकन व्यथा र पीडाबीच उनमा जन्मियो सांगीतिक तरङ्ग ।
धेरै समय रोजगारीको लागि भौतारिएका उनी केही वर्षको मलेशिया बसाईपछि पुनः स्वदेश फर्किए । त्यसपछि उनी गितार सिक्न थाले । गितारको धून यानेकी अनप्लग्ड गुन्जाईले उनी संगीतप्रति मोहित भए । बरु जीवनमा केही चाहिएन तर संगीत चाहिँ चाहिन्छ भन्ने उक्ति नै उनमा लागू भयो ।
हाल उर्लाबारी मंगलबारेमा व्यवसाय गरेर संगीतलाई निरन्तरता दिइरहेका जोनाले अनुरोध डिजिटल म्यूजिक सेन्टरबाट २०६९ मा एकल एल्वम 'दुःखको यात्रा' निकालिसकेका छन् । उनैसँग सन्तोष राईले गरेको छोटो कुराकानी -
अहिले के कसरी दिन बितिरहेछ ?
- म सधैं रियाज गर्छु अनि नयाँ गीत संगीतहरु सृजना गर्न पनि प्रयास गरिरहेको छु । अनि दिउँसोको समय म साधारण व्यापारी भएको नाताले व्यापार व्यवसायमै समय दिइरहेको छु । यसरी नै मेरो दिनचर्या बितिरहेको छ ।
संगीतप्रति चाहिँ कसरी आकषिर्त हुनुभयो ?
- म सानैदेखि गीत गुनगुनाउने गर्थे । मेरो आमाले जब मलाई छोडेर कतै टाढा जानुभयो म बिलासीन थालेँ । अनि अलि ठूलो भएपछि आफन्त मान्छेहरुको माया मोह मैले महसुस गर्ने अवसर पाइनँ । हो, मलाई त्यतिबेला नै गीतहरु फुर्ने गर्थ्यो अनि संगीत पनि भर्ने गर्थे । साथीहरुले पनि हौस्याइरहन्थे । यसरी नै संगीतप्रति आकर्षित भएँ ।
'दुःखको यात्रा’मा कस्ता किसिमका गीतहरु समावेश गर्नुभएको छ ?
- यस एल्वममा मैले पप संगीतलाई बढी प्राथमिकता दिएको छु । आमा मलाई छाडी गयौं.. र निलो आकाशको म्यूजिक भिडियो पनि निर्माण गरेको छु । युट्युवमा अहिले पनि राम्रैसँग भ्यूअर्स बढिरहेका छन् । अन्य ६ वटा गीतहरु पनि पप आधुनिक वेशमा छन् ।
एल्वम निकाल्दा कतिको दुःख पाउनुभयो ?
- सुरुवातमा मलाई धेरै समस्या भयो । एल्वम झिक्ने पैसा थिएन । केही पैसा कमाउन मलेसिया गएँ । त्यसपछि आएर एल्वमको तयारी त गर्न थालें । तर, मलाई केही थाहा थिएन । जस्तै कहाँ गएर गीत रेकर्ड गर्ने, कुन कम्पनीलाई दिने यी यावत कुराहरुको जानकारी नहुँदा मलाई धेरै समस्या भयो । अनि केही साथीहरुबाट म ठगिन पनि पुगें । जसोतसो गीत त रेकर्ड गरियो कुनै मिडिया र कम्पनीले लिनसमेत मानेन । धेरै आए मेरो जीवनमा यस्ता समस्याहरु ।
नेपाली गीत संगीतमा टिक्न सकिएला ?
- सबैले भन्ने गरेका छन् संगीतमा टिक्न गाह्रो छ भनेर । तर, म चाहिं के भन्छु भने संगीतलाई पार्टटाइमको रुपमा लिने हो । यसैमा पूरा जिन्दगी सुम्पने होइन । मेरो सवालमा चाहिँ म संगीतलाई निरन्तर अघि चाहिं बढाइरहन्छु यसैमा निर्भर चाहिँ रहन्न । यसो गर्दा नेपाली गीत संगीतमा टिक्न सकिन्छ जस्तो लाग्छ मलाई ।
तपाईको भावी योजनाहरु के-के छन् ?
- अब संगीतलाई निरन्तरता दिँदै अर्को गीती एल्वमको तयारी गरिरहेको छु । र, अहिले मैले निर्माण गरेको गीतको भिडियोहरु भन्दा स्तरीय म्यूजिक भिडियो निर्माण गर्ने सोच गर्दैछु । अनि व्यापारी भएको नाताले व्यवसायलाई पनि स्तरीयता दिँदै अघि बढ्ने योजना छ ।
र अन्त्यमा .... ?
- सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई गीत संगीतलाई माया गरौं, कपी नगरौं स्रष्टाहरुको सम्मान गरौं भन्न चाहन्छु । र, अब चाँडै नै नयाँ म्यूजिक भिडियो लिएर आउनेछु ।

Comments
Post a Comment