तीन सय बढी व्यवसायीहरुका ढक, तराजुको परीक्षण



२४ चैत, दमक।
दमकका तीन सय बढी व्यवसायीहरुका ढक, तराजु परीक्षण गरिएको छ । गुणस्तर तथा नापतौल विभाग पूर्वाञ्चल क्षेत्रीय कार्यालयले स्थानीय दमक उद्योग वाणिज्य संघको कार्यालयमा सञ्चालन गरेको जारी नाप तौलको परीक्षण शिविरमा हालसम्म ३ सय ५ वटा ढक, तराजुको गुणस्तर मापन गरी नवीकरण गरिएको छ ।
दमकमा दुई सय ५० जनाले आफ्ना ढक, तराजुको परीक्षण गराएर नवीकरण गराएका छन् भने तोपगाछीको केर्खाबाट ५५ जनाले नवीकरण गराएका दमक उद्योग वाणिज्य संघका कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए।




यहि चैत १९ गतेदेखि सञ्चालित शिविर भोलि चैत २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । परीक्षण शिविरमा नापतौल कार्यालयका निरीक्षक मुकुन्द चौहान, सिनी सुदिप दाश, मोहन प्रसाद पाण्डे लगायतका टोलीले ढक, तराजुहरुको परीक्षण गरेका थिए । यहाँका व्यवसायीहरुको ढक, तराजुलाई नियमानुसार परीक्षण गराउन सो कार्यक्रमले सघाउ पुर्‍याउने संघको कार्यालय प्रमुख विष्टले बताए। उनले छुटेका व्यवसायीहरुले भोलिसम्ममा आफ्ना मापन औजार परीक्षण गराएर फाइदा लिन आग्रह गरेका छन् ।
दमकबाट १५ सय बढीले नाप, तौलका औजार प्रयोग गर्दै आएपनि परीक्षणमा भने अत्यन्त न्यून सहभागीता भएको भन्दै छुटेका व्यवसायीहरुले यस शिविरबाट फाईदा लिन संघले अनुरोध गरेको छ ।






Comments