महासंघको सदस्यता नवीकरण खुल्ला



१० बैशाख, बिर्तामोड।
नेपाल पत्रकार महासंघ झापा, शाखाले २०७२ सालको सदस्यता नवीकरण खुल्ला गरेको छ ।
महासंघ झापा शाखाको आज बिहीबार बसेको बैठकले सदस्यता नवीकरण खुल्ला गर्नेसहित विभिन्न निर्णयहरु गरेको छ ।
अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा बसेको वैठकले बैशाख मसान्त सम्ममा सदस्यता नवीकरण गर्न सबै सदस्य पत्रकारहरुलाई आग्रह गरेको महासंघका सचिव एकराज गिरीले जानकारी दिए ।
३ मे अर्थात बैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवस महासंघको बिर्तामोडस्थित कार्यालयमा पत्रकारको पेशागत सुरक्षा, हक हित र प्रेस स्वतन्त्रताका सम्बन्धमा अन्तरक्रिया गरी मनाउने पनि निर्णय गरिएको छ । कार्यक्रममा सहभागिताकालागि महासंघले सबै पत्रकारलाई आग्रह गरेको छ ।



त्यस्तै २०७० फागुन २५ गते निर्वाचित महासंघको वर्तमान कार्यसमितिको एक वर्षको कार्यकाल र गतिविधिको समीक्षा गर्दै गतिविधि समेटिएको प्रतिवेदन अनुमोदन गरिएको छ । साथै २०७० फागुन देखि २०७१ माघ मसान्तसम्मको ९,२४,५०९।- रुपैयाँको आम्दानी, ८,९१,५४३।- रुपैयाँको खर्च विवरण र ३२,९६६।- रुपैयाँ बैंक मौज्दात रहेको कोषाध्यक्ष प्रेम आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनबारे समीक्षा गर्दै आर्थिक प्रतिवेदन संसोधनसहित अनुमोदनका लागि आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको छ।
त्यसैगरी बिर्तामोड नगरपालिकाको नगरस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिमा पत्रकार महासंघको तर्फबाट सचिव एकराज गिरीलाई प्रतिनिधि पठाउने निर्णय गरिएको महासंघले जनाएको छ ।
सञ्चार मन्त्रालयले प्रदान गर्दै आएको महासंघ जिल्ला शाखा भवन निर्माण अनुदान महासंघ झापा शाखाको तर्फबाट माग गर्ने, महासंघ झापाका सदस्यहरुको फोटो सहितको व्यक्तिगत विवरण अद्यावधिक गर्ने निर्णय गरिनुका साथै सबै पत्रकारको व्यक्तिगत विवरण महासंघको वेवसाइटमा राखिनेसमेत जनाइएको छ ।






Comments