सेवा गर्ने उत्तम समय - कर्मयोग भवन निर्माण




८ चैत, कनकाई।
झापाको कनकाई नगरपालिका ४ कोटीहोममा १० करोड रुपैयाँ लागतको गुरु योजनासहित कर्मयोग भवन निर्माण कार्य शुरु भएको छ ।
तीनवटा व्लकमा निर्माण गरिने भवनको अहिले एउटा व्लकको ग्राउण्डफ्लोर र बेसवीम निर्माण कार्य सकिएको जनाइएको छ ।
समर्पण राष्ट्रिय अभियानबाट संकलित रकमको लगानीमा निर्माण शुरु गरिएको कर्मयोग भवनका लागि ४१ लाख २२ हजार रुपैयाँ खर्च भइसकेको अभियानमा संयोजक महेन्द्रकुमार गिरीले बताए ।
'रकम कम छ, सहयोग गर्ने मन छ' भन्ने नाराका साथ एक दिनको थोरै श्रम र केही रकम समुदायका लागि समर्पण गर्न ०७० बैशाख २६ गते कनकाई माई तटमा सञ्चालन गरिएको समर्पण राष्ट्रिय अभियानमा ५४२० जनाले सहभागिता जनाएका थिए ।



सहारा नेपाल (साकोस) मुख्य आयोजक तथा झापाका ६८ वटा संस्थाको आयोजनामा भएको अभियानबाट एक करोड आठ लाख रूपैयाँभन्दा बढी रकम जुटेको र सोही रकमबाट भवन निर्माण थालिएको बताइएको छ ।
उक्त रकमबाट दुई वटा ब्लकको फण्डिसन निर्माण र त्यसमध्ये एउटाको छत ढलाई गर्न मात्र पुग्ने कर्मयोग भवन निर्माण समितिका सहसंयोजक प्रभाखर कडरियाले बताए । तीनवटै ब्लकको पहिलो तला निर्माण गर्न मात्र तीन करोड रुपैयाँ लाग्ने भएकोले आर्थिक अभाव खड्किएको भन्दै संयोजक गिरी र सह-संयोजक कडरियाले सहयोगका लागि सबैमा आव्हान गरेका छन् ।
'के लिएर आयौं, के लिएर जानेछौं, कर्मयोग भवन बनाऔं, सँधै अमर रहनेछौं' भन्ने नाराका साथ उक्त भवन निर्माण पूरा गर्न सहयोग जुटाउने अभियान शुरु गरिएको छ ।
भवनको पहिलो तलामा पूरा भएपछि आठ परिवारले एक साथ कर्मयोग गर्न सक्नेछन् । प्रत्येक परिवारका लागि महिला पुरुष अलग-अलग दुई कोठा, पाहुना कक्ष, भान्सा, ट्वाइलेट बाथरुम र कमन हलको व्यवस्था मिलाइने निर्माण समिति सदस्य प्रेम दाहालले बताए । त्यस्तै प्रशासन, लेखाको अलग्गै व्यवस्थापन, लिफ्टसमेत रहने बताइएको छ ।
पहिलो तला पूरा गर्न समर्पण राष्ट्रिय अभियानमा सहभागी र अन्य इच्छुकबाट सहयोग जुटाइने तथा माथिल्लो तलाका लागि भने प्रत्येक कोठा निर्माण गर्ने दाता खोजिने जनाइएको छ ।
दुई हजार रुपैयाँ प्रदान गरी समर्पण राष्ट्रिय अभियानमा सहभागी हुने प्रत्येक नागरिकलाई तीन हजार एक सय रुपैयाँ थप गरी पाँच हजार एक सय रुपैयाँ समर्पण गर्न समितिले आव्हान गरेको छ ।
दुई हजार रुपैयाँ प्रदान गर्नेको नाम स्मारिकामा प्रकाशन गरिने र त्यसमा थप गरी पाँच हजार एक सय रुपैयाँ प्रदान गर्नेको नाम शिलालेखमा राखिने व्यवस्था मिलाइएको छ ।
त्यस्तै ५० हजार रूपैयाँभन्दा बढी सहयोग प्रदान गर्नेको नाम संयुक्त कोठामा राखिने, सात लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नेको नाममा कोठा निर्माण गरिने र संघ संस्थाले सहयोग गरेमा विशेष सम्मान प्रदान गर्ने समितिले निर्णय गरेको छ । इच्छुकले लक्ष्मी बैंक बिर्तामोड शाखाको खाता नं. ०२९११०००७७८ मा रकम जम्मा गर्न पनि समितिले आव्हान गरेको छ ।
जग्गा साँघुरिएसँगै मानिसको घरमा आँगनसमेत हराउँदै गएको बेला पवित्र धार्मिक स्थलमा गरिने पितृको कर्मयोग अत्यन्त आवश्यक र राम्रो हुने सुरुङ्गाका अगुवा भीमप्रसाद अधिकारी बताउँछन् ।

कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाका अध्यक्ष युवराज संग्रौला थोरै-थोरै रकम जुटाएर महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण समर्पण अभियान र त्यसको उपज कर्मयोग भवन बन्ने बताउँछन् ।
घर नहुने र डेरामा बस्नेका लागि आफ्ना आफन्तको कर्मयोग गर्न पशुपति आर्यघाटको झैं व्यवस्था झापामा कर्मयोग भवनमार्फत मिलाइने भवन निर्माण समितिका सह-संयोजक एवम् कनकाई आर्यघाटका अध्यक्ष प्रभाखर कडरियाको भनाई छ ।
काहुराष्टका अध्यक्ष सूर्य उप्रेती कर्मयोग भवन झापालीको गहना भएकोले सबैको सहयोग अपरिहार्य रहेको बताउँछन् ।
सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया कर्मयोग भवन निर्माणमा प्रत्येक झापालीले केही र केही योगदान गर्नुपर्ने बताउँछन् ।
संयोजक महेन्द्रकुमार गिरीले थपे, 'सबैको योगदानले नै सबैको अपनत्वको भवन बन्ने र त्यसबाट समर्पणको उद्देश्य पनि पूरा हुन्छ ।'
समर्पण राष्ट्रिय अभियानको सबै नागरिकमा अनुरोध छ, 'आफ्नो थोरै रकमबाट समाजका लागि महत्वपूर्ण योगदान गर्ने र पवित्र कार्य पूरा गर्ने अवसर नगुमाउनुहोस् । जीवनको अन्तिम उद्देश्य सेवा हो, सेवा गर्ने उत्तम समय कर्मयोग भवन निर्माण हो ।'



Comments