जहदाले चुम्यो महिला गोल्डकपको उपाधि




गोविन्द पोख्रेल,
२८ फागुन, उर्लाबारी ।
महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जहदा फुटबल क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा जहदाले झापा फुटबल क्लबलाई २-०को गोल अन्तरले हराउँदै उपाधी कब्जा गरेको हो ।
जहदाका जितका लागि मुना राई र रेश्ना राईले १/१ गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । शुरुदेखि आक्रामक बनेको जहदाले दोस्रो हाफको चौथो र २६ औँ मिनेटमा गोल गरेको थियो ।
जितसँगै जदाहले २० हजार रूपैयाँ नगद पुरस्कारसहित ट्रफि र मेडल हात पार्‍यो। यस्तै, दोस्रो भएको झापा फुटबल क्लबले १५ हजार रूपैयाँ नगदसहित ट्रफि र मेडल प्राप्त गर्‍यो। विजेता टिमलाई मोरङ ९ का सभासद डिगबहादुर लिम्बूले नगदसहित ट्रफि प्रदान गरे ।
यस्तै, गोल्डकपको उत्कृष्ठ गोलकिपर झापाकी पू्र्णा चौधरी घोषित भइन् । उनलाई नगद ५ हजार रूपैयाँसहित प्रमाण-पत्र प्रदान गरियो ।



त्यसैगरी उत्कृष्ट रक्षक झापाकै रञ्जना चौधरी भइन् । उनलाई पनि नगद ५ हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रतियोगिताको सर्वाधिक गोलकर्ता जहदा फुटबल क्लवकी टिम कप्तान संरचना प्रधान भइन् । उनीलाई नगद १० हजार रूपैयाँसहित ट्रफि र प्रमाणपत्र दिइएको थियो । जहदाकै मञ्जु राई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् ।
उत्कृष्ठ हुनेहरुलाई उर्लाबारी-७ निवासी चेतन लिम्बूले नगद २५ हजार रुपैयाँको प्रायोजन गरेका थिए।
गत फागुन २४ गते नारी दिवसको अवसर पारेर उर्लाबारीमै पहिलो पटक गोल्डकपको आयोजना गरिएको थियो । गोल्डकपका लागि उर्लाबारी नगरपालिकाको प्रविधिक सहयोग र मंगलबारे युवा समाज मुख्य सहयोगी रहेका थिए । अन्तर पार्टी महिला सञ्जाल उर्लाबारी र सालबारी एकता क्लब मंगलबारेको संयुक्त आयोजनामा गोल्डकप आयोजना गरिएको थियो । मोरङ, झापा र सुनसरीका ६ टिमले गोल्डकपमा सहभागिता जनाएका थिए ।
फाइनल खेलमा आयोजित एक कार्यक्रमका बिच मोरङ ९ का सभासद डिगबहादुर लिम्बूले खेलकुद क्षेत्र विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै महिला सञ्जालले आयोजना गरेको फुटबल प्रतियोगिताले समाजमा सकरात्मक सन्देश दिने बताए ।
सो अवसरमा उर्लाबारीमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधि, उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ, जिल्ला फुटबल संघ मोरङका पदाधिकारीहरु, स्थानीय समाजसेवी लगायत अन्य विभिन्न क्षेत्रका हस्तीहरुले उपस्थिती रहेको महिला सञ्जाल उर्लाबारीकी अध्यक्ष रुपा निरौलाले जानकारी दिइन्।


Comments