दुर्घटना बढेपछि ट्राफिक चेकचाँजमा सकृयता



७ फागुन, दमक।
झापाको माइपश्चिम क्षेत्रमा दिउँसो ३ देखि राति ८ बजेसम्म बढी दुर्घटनाको जोखिम हुने गरेको पाइएपछि सो समयमा सवारी चेक जाँचमा प्रहरीले सक्रियता देखाएको छ । इलाका प्रहरी कार्यालय दमकले माइपश्चिम क्षेत्रका विभिन्न सात स्थानलाई बढि दुर्घटनाको जोखिम क्षेत्रका रुपमा लिँदै सवारी चेक जाँचमा सक्रियता देखाएको हो।
ट्राफिक प्रहरीले गर्ने नियमित सवारी चेक जाँचका अतिरिक्त जनपथ प्रहरी समेतको सहभागितामा ट्राफिक जाँचलाई तिब्र बनाइएको इलाका प्रहरी कार्यालय दमकका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले जानकारी दिए । अहिले सम्मका सवारी दुर्घटनालाई अध्ययन गर्दा ताराबारीदेखि माइधार सम्मका सात क्षेत्र र दिउँसो ३ देखि ८ बजे सम्मको जोखिम बढि देखिएकाले त्यसलाई न्युनिकरण गर्ने प्रयास स्वरुप शनिबारदेखि चेकजाँच शुरु गरिएको निरीक्षक सिलवालले बताए। उनले सवारी दुर्घटना लापरवाही र जनचेतनाको अभाव दुवै कारणले बढिरहेको निष्कर्ष निकालिएको पनि बताएका छन् । सोहीअनुसार प्रहरीले दुर्घटना न्युनिकरणका लागि सप्ताहव्यापी विशेष चेक जाँचसँगै जनचेतनाका कार्यक्रम पनि ल्याएको सिलवालले बताए ।




शनिबारबाट शुरु विशेष चेक जाँचका क्रममा सवारी चालकको मापसे जाँचलाई प्राथमिकता दिइएको झापाको माइपश्चिम क्षेत्रमा प्रहरी कमाण्डसमेत सम्हालिरहेका इलाका प्रहरी कार्यालय दमकका डिएसपी इश्वर कार्कीले बताएका छन् । उनले भने, 'दुर्घटनाको मुख्य कारण मापसे भएकाले त्यसलाई पूर्ण रुपमा रोक्ने हाम्रो लक्ष्य हो ।' त्यससँगै सवारी चालक अनुमती पत्र र हेल्मेट भए नभएको तथा ट्राफिक नियम उल्लंघनका घटनासमेत हेरिने प्रमुख कार्कीले जानकारी दिए ।
यसैबीच झापाको दमक १३ मा ट्राफिक बिट स्थापना गर्न माग गरिएको छ । पशुहाट दक्षिणतर्फको सो क्षेत्रमा ट्राफिक विट स्थापना गर्न स्थानीयवासीले माग गरेका हुन् ।
यात्रुवाहक वस तथा ट्याक्सीहरू बसपार्क नगई सोझै राजमार्गमा नै रोकेर यात्रुहरू चढाउने र उतार्ने गरेकाले दुर्घटना बढेको भन्दै सो क्षेत्रमा ट्राफिक प्रहरी विट राख्नु पर्ने उनीहरूको भनाई छ ।
स्थानिय दिपेश दाहालले सबारी साधनको उचित ब्यवस्थापन नहुँदा दैनिक रुपमा दुर्घटना हुने क्रम बढेको बताए। उनले सो स्थानमा ट्राफिक पोष्ट राख्नका लागि माग गरिएको बताउनु भयो ।







Comments