२४ फागुन, उर्लावारी।
नबोदित गीतकार दिपेन्द्र खड्काको सहयोगमा उर्लाबारी ३ का फूटबल खेलाडी बिमल लिम्बुलाई आर्थिक सहयोग जुटेको छ ।
लिम्बुलाई २० हजार रुपैयाँ सहयोग जुटेको हो। साउदी अरबको दमाम साद साहमी अल कम्पनीमा कार्यरत केही नेपाली युवाहरुको सहयोगमा उनले उक्त रुपैयाँ जुटाएका हुन् । मेरो उर्लाबारी डटकम पेजमा बिमलको बारे पोस्ट गरेको समाचार देख्दा आफू भाबुक बनेको र सहयोग गर्ने सोच बनाएको खड्का बताउँछन् । उनले त्यहाँ रहेका अन्य नेपाली साथीहरुसँग सल्लाह गरे उनीहरुबाट पनि राम्रै प्रतिक्रिया पाएपछि थप हौसालाका साथ उनी उक्त सहयोग संकलनमा जुटे ।
कसैको सानो सहयोगले कसैको ज्यान बच्छ भने किन सहयोग नगर्ने भन्ने सोचले आफू सहयोग गर्न हौसिएको उनी बताउँछन् । कुनै समय आफू पनि फुटबल खेलाडी नै रहेको र एकजना फुटबल खेलाडी आर्थिक अवस्थाका कारण उपचार हुन नसकेको कुराले आफूलाई निकै चिन्तित बनाएको पनि उनले बताए । सहयोग संकलन कार्यमा साथ दिने सबै नेपाली साथीहरुलाई हृदयबाट नै धन्यवाद दिँदै आगामी दिनमा पनि यस किसिमको सामाजिक कार्यहरुमा आफू लागिरहने उनले बताए ।
उर्लाबारी फुटबल क्लबका २० बर्षीय लिम्बुको मुटुमा समस्या देखिएपछि काठमाडौंको गंगालाल हृदय रोग अस्पतालमा देखाइएको थियो । आर्थिक अभावको कारण अपरेशन हुन नसकेको पीडित लिम्बुले बताएका छन्। अपरेशनको लागि साढे दुई लाख रुपैयाँ लाग्ने उनले जानकारी दिएका छन् । उर्लाबारी-३ का लिम्बुको आर्थिक अवस्था कमजोर भएका कारण सबैले खेलाडी लिम्बुको उपचारमा सहयोग गर्न सहयोग संकलन समितिले आग्रह गरेको छ ।

Comments
Post a Comment