क्यान्सरपिडितलाई संघीय समाजवादीको सहयोग



२१ फागुन, दमक।
पेटको ठुलो आन्द्रामा क्यान्सर भएपछि उपचारका लागि खर्च अभाव झेलिरहेका झापाको दमक- १० इन्द्रेणी टोलका ३६ बर्षिय वेदबहादुर कटुवाललाई नगद २४ हजार २ सय ९० रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
संघीय समाजवादी पार्टी झापा क्षेत्र नं ७ र दमक नगर कमिटीको पहलमा दमकमा बुधबार संकलन गरिएको सो रकम बिहीबार कटुवालको घरमै पुगेर हस्तान्तरण गरिएको हो । पार्टी नगर सल्लाहकार जेवी राईले पार्टी नेतृत्वसँग कटुवालको आर्थिक अवस्था कम्जोर भएको र उपचारमा सहयोग गर्नुपर्ने प्रस्ताव राखेपछि नगर र क्षेत्रीय कमिटीले सो सहयोग रकम संकलन गरेको पार्टी क्षेत्रीय कमिटी अध्यक्ष ज्ञानेन्द्र कुरुम्वाङले बताए । उनले कटुवालको सहयोगका लागि भातृ संगठन दलित संघका जिल्ला उपाध्यक्ष भिम विकसहित शुभेच्छुकहरुले समेत सक्रिय सहयोगको भूमिका निर्वाह गरेको बताए ।


संकलित रकम कटुवाललाई हस्तान्तरण गर्दै पार्टी जिल्ला अध्यक्ष धिरेन लावतीले मानवीय सेवालाई प्राथमिकतामा राखेर पार्टीको स्थानीय नेतृत्वको अगुवाइमा भएको सो कार्यको प्रशंसा गरे । सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ दमक नगर अध्यक्ष बासुदेव राईले मानवीय सेवा कुनै जातजाति वा धर्मको घेराभन्दा बाहिर हुने भएकाले कटुवालको उपचारमा पुर्‍याएको सहयोगप्रति सबैलाई धन्यवाद व्यक्त गरे ।
समाजवादी दमक नगर कमिटी अध्यक्ष हेमप्रसाद पालुङवाको सभापतित्वमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला कमिटी सदस्य शान्ता पालुङवा, सेसेमी लिम्बु लगायतको पनि विशेष उपस्थिति थियो । सो कार्यक्रमको सञ्चालन पार्टी नगर कमिटी सचिव मनकुमार आङदेम्बेले गरेका थिए ।




Comments