गजलमाला पुरस्कार तेह्रथुमका अनुपमलाई




२६ फागुन, उर्लाबारी ।
उर्लाबारी गजल मञ्चले २०७० सालको गजलमाला पुरस्कारबाट यस वर्ष तेह्रथुमका श्रष्टा विराटअनुपमलाई पुरस्कृत गर्ने भएको छ ।
आज मञ्चले उर्लाबारीस्थित पूर्वाञ्चल वौद्ध गुम्वामा सोमबार पत्रकार सम्मेलन गरी अनुपमलाई गजलमाला पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिएको छ ।
यहि फागुन ३० गते उर्लाबारी बहुमुखी क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी अनुमपलाई पुरस्कृत गरिने गजल मञ्चका अध्यक्ष युवराज काफ्लेले जानकारी दिएका छन् ।



२०६५ सालबाट सुरु भएको १ हजार १ सय रुपैयाँ राशि रहेको उक्त पुरस्कारबाट यसअघि प्रतिभा प्रक्षिप्त, नविन प्राचिन, सुशीला भट्ट, राज दिलान्जली, रहस्यबिक्रिम चिमरिया पुरस्कृत भइसकेको गजल मञ्चका उपाध्यक्ष तेजन खड्काले जानकारी दिए । उनका अनुसार गजल मञ्चका पूर्व अध्यक्ष सावित्रा याक्खालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।
'उर्लाबारी गजल मञ्चको अभियान, नयाँ श्रष्टाको पहिचान' भन्ने नाराका साथ मञ्चले मोफसलमा रहेर साहित्यीक गतिविधि गर्दै आएको छ । गजल विधामा कलम चलाएका तर कृति भने प्रकाशित नगरेका नवप्रतिभालाई गजलमाला पुरस्कार प्रदान गरिँदै आएको गजल मञ्चले जनाएको छ ।
पुरस्कार लागि पूर्वाञ्चलका बिभिन्न जिल्लाका श्रष्टाहरुको गजल छनौट गरिएको थियो ।





Comments