निजी क्षेत्रले व्यवस्थापन गर्ने दमकको फोहोर



१० चैत, दमक।
झापा, दमक नगरको फोहर व्यवस्थापनको काम निजी क्षेत्रले गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक फोहर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको हो ।
आगामी वैशाख १ देखि नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापनको जिम्मेवारी पाथवे नामक कम्पनीलाई दिइएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकरी दिए । दैनिक नगरको फोहर व्यवस्थापन गर्न दमकस्थित हम्सेदुम्से सामुदायिक वनको करिब अढाई बिगाहा जग्गा छनौट गरिएको उनले जनाए । जैविक पार्क, मल उत्पादन तथा पर्यटन प्रवर्द्धन समेतको लक्ष्य राखी फोहर फाल्ने स्थानको पूर्वाधार विकास गरिने नगरपालिकाले जनाएको छ ।


फोहर व्यस्थापन गर्ने स्थानमा प्रशोधन केन्द्र लगायतका संरचना निर्माणमा ७० लाख रुपैयाँ लाग्ने नगरपालिकाको भनाई छ ।
फोहर व्यवस्थापनका लागि आगामी वर्षभित्रमा सबै संरचनासमेत निर्माण गरिने जनाइएको छ । त्यसपछि सो स्थानलाई फोहर फाल्ने क्षेत्रको रुपमा नभई काम नलाग्ने वस्तुहरुको प्रशोधन तथा अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।
हाल नगरमा दैनिक १० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । सोमध्ये ८ टन सहरी क्षेत्रको मात्र हुने गरेको छ । नगरमा उत्पादित फोहरमध्ये ५.३७ प्रतिशत प्लास्टिक तथा प्लास्टिकजन्य फोहर हुने गरेको थियो । तर दमक उद्योग वाणिज्य संघ तथा नगरपालिकाले प्लास्टिकका झोलाको प्रयोगमा रोक लगाइसकेका छन् ।


Comments