मेचीद्वारा जलबिन्दु सप्ताह शुरू


२४ फागुन, बिर्तामोड।
मेची आँखा अस्पताल बिर्तामोड झापाले आजबाट जलबिन्दु सप्ताह शुरु गरेको छ ।
अन्धोपनको कारकको रुपमा रहेको जलबिन्दुलाई निर्मूल पार्ने उद्देश्यले आँखा अस्पतालले जलबिन्दु सप्ताह मनाउन शुरु गरेको हो । मार्च १५ तारिकसम्म अस्पतालले आँखा परीक्षण गर्र्दै तीन प्रकारका औषधि समेत निःशुल्क वितरण गर्ने जनाएको छ ।
उच्चस्तरीय प्रविधिद्वारा आँखाको चाप मापन गरिने, दृष्टि छिद्रको मापन गरिने र ओसीटी जाँच गरिने अस्पतालका प्रशासन अधिकृत सुरज रौनियारले जानकारी दिए ।




आँखा जाँचमा ५० प्रतिशत छुटको व्यवस्थासहित अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुरुषोत्तम जोशीले विरामीको आँखा जाँच गरिरहेको बताइएको छ ।
आँखा रातो हुनु, एक्कासी आँखा कम देखिन थाल्नु, टाउको तथा आँखा बेस्सरी दुख्नु, बत्तीको वरीपरी इन्द्रेणी जस्तो देखिनु, बाहिरी कालो नानीमा बादल लागेजस्तो देखिनु, बान्ता लाग्नु, भित्री नानी ठूलो देखिनु तथा उज्यालोमा पनि नखुम्चनु, आँखाको चाप सामान्यभन्दा धेरै हुनुआदि लक्षण देखिए जलबिन्दु हुनसक्ने बताउँदै अस्पतालका मेसु जोशीले यस्ता लक्षण देखिए तुरुन्त अस्पतालमा आएर आँखा जाँच गराउन आग्रह गरेका छन् ।
जलबिन्दु जन्मजात, ठूला कोर्णिय र बन्द कोर्णिय गरी तीन प्रकारको हुने भएकोले त्यसको दीर्घकालीन निदानको लागि आँखा रोग विशेषज्ञद्वारा आँखाको जाँच गराउनु नै उत्तम उपाय भएको मेसु जोशीले बताए ।



Comments