कांग्रेस र एमालेबाट जनतालाई धोका - अशोक राई




डिकेश लामा,
२८ फागुन, दमक।
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संघीयताका लागि भनेर भोट मागेका कांग्रेस र एमालेले अहिले आएर जनतालाई धोका दिएको बताएका छन् ।
दमकमा आज भएको पत्रकार सम्मेलनमा अध्यक्ष राईले कांग्रेस र एमालेले भोट माग्दा पहिचान र संघीयता सहितको संविधान दिने भन्दै जनतासँग भोट मागेको भएपनि अहिले आएर सो मुद्दालाई वेवास्ता गरेको बताए ।
३० दलीय गठनबन्धनले हदैसम्मको लचक हुँदा सत्तासिन पार्टी कांग्रेस र एमाले ९ बूँदे सहमतिमा अडिग रहेको राईको भनाई छ । पार्टीको घोषणा पत्रमा पहिचान र संघीयताको मुद्दालाई राखेर संविधान बनाउँछौं भनेको भएपनि आज आएर जनतालाई काँग्रेस र एमालेले धोका दिएको राईले बताए ।



पहिचान यात्रा नाम लिएर पूर्वको काँकडभिट्टाबाट शुरु गरिएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले दमकमा गरेको पत्रकार सम्मेलनमा आन्दोलन परिचालन समितिका संयोजक तथा नेवादय दबुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले सिमान्तकृत, अतिसिमान्तकृत तथा लोन्मुख आदिवासी जनजातिहरुको एक जाति एक प्रतिनिधित्व सुनिश्चितताका लागि एक हुन सन्देश दिँदै यात्रा अगाडि बढाएको बताए ।
संघीय लिम्बुवान राष्ट्रिय पार्टीका केन्द्रीय उपाध्यक्ष खगेन्द्र माखिमले पहिचान पक्ष र विपक्षको द्वन्द्वबाट संविधान आउन नसकेको बताउँदै पहिचानबादीहरु संघीयता सहितको संविधानमा निर्माण जुट्न सवैलाई आग्रह गरे ।
सम्मेलनमा लिम्बुवान प्रान्तीय संर्घष समितिको केन्द्रीय सचिव प्रेमदिप थाम्सुहाङ्ग, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष कान्छा लावती, अखिल आदिवासी एकिकृत अध्यक्ष नगेन्द्र राई, शेर्पा संघका केन्द्रीय महासचिव सोनाम शेर्पा, मगर संघ नेपालका उपाध्यक्ष सुदर्शन बराल लगायत जिल्ला तथा क्षेत्रका पहिचानवादी पार्टीका कार्यकर्ताको उपस्थिति रहेको थियो ।


Comments