पत्रकार महासंघको स्थापना दिवसमा लक्ष्मण र कृष्णकलालाई पुरस्कार


११ चैत, विर्तामोड।
आम नेपाली श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६० औं प्रवेश वर्षगाँठमा प्रवेश गरेको छ ।
६० औं स्थापना दिवस नेपाल पत्रकार महासंघ झापाको आयोजनामा प्रेस स्वतन्त्रता सेनानी एसएल शर्मा र उनकी श्रीमती पार्वतीदेवी शर्माको स्मृतिमा स्थापिलत 'एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार' र 'पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार' बितरणका साथ बिर्तामोडमा मनाउने तयारी गरिएको छ ।
चैत १६ गते सोमवार बिर्तामोडको होटल डेनियलमा नेपाल पत्रकार महासंघको स्थापना दिवस तथा पुरस्कार वितरण समारोह गरिने पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङले बताए ।
यसवर्षको 'एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार' पत्रकार लक्ष्मण ढकाल र 'पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार' पत्रकार लेखनाथ परदेशी शिवाकोटीकी श्रीमती कृष्णकला पाठक शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरिएको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए ।



बिर्तामोड १ निवासी पत्रकार ढकाल पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक हुन् । २०३४ साल देखि पत्रकारितामा क्रियाशील पत्रकार ढकाललाई प्रदान गर्न लागिएको 'एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार'को राशी ११ हजार रुपैयाँ र सम्मान पत्र रहेको पुरस्कार संस्थापक परिवारका सदस्य पत्रकार भाष्कर शर्माले बताए ।
त्यस्तै जलथल ३ निवासी पत्रकार लेखनाथ बरुण साप्ताहिकका कार्यकारी सम्पादक र नागरिक एफएममा आबद्ध छन् । उनी २०४० सालदेखि पत्रकारितामा क्रियाशील छन् । पत्रकारिता यात्रामा सघाएको योगदानको कदरस्वरुप पत्रकार परदेशीकी श्रीमती कृष्णकलालाई प्रदान गर्न लागिएको 'पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार'को राशी ५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।
उक्त पुरस्कार हरेक वर्ष महासंघ स्थापना दिवसका अवसरमा प्रदान गरिँदै आएको छ । ०६२ सालमा स्थापित 'एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार'बाट यसअघि कृष्ण धरावासी, लीला उदासी, चन्द्र भण्डारी, गोविन्द क्षेत्री, चिन्तामणि दाहाल, कृष्ण हुमागाई, गोपाल गिरी, गोपाल गड्तौला, भीम नेम्वाङ र मोहनकाजी पुरस्कृत भइसकेका छन् ।
त्यस्तै ०६६ सालमा स्थापित 'पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार'बाट पत्रकार लीला बरालकी श्रीमती कुन्ता बराल, पत्रकार मदन ढकालकी श्रीमती सावित्रा ढकाल, पत्रकार माधव विद्रोहीकी श्रीमती सञ्जु भण्डारी, पत्रकार अमृतलाल श्रेष्ठकी श्रीमती नीलु श्रेष्ठ र पत्रकार दिपिन राईकी श्रीमती लीला राई पुरस्कृत भइसकेका छन् ।
१९८३ सालमा जन्मिएर प्रेस स्वतन्त्रताकालागि अतुलनीय योगदान पुर्‍याएका शर्माको निधन २०६० सालमा भएको थियो । उनको योगदान र स्मृति ताजा राख्न उनका छोरा राजेन्द्र शलभ तथा शर्मा परिवारको अगुवाइमा 'एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कार' को स्थापना २०६२ सालमा भएको हो ।

१९८७ सालमा जन्मिएर प्रेस स्वतन्त्रताकालागि अतुलनीय योगदान पुर्‍याउने एसएलकी सहयात्री पार्वतीदेवीको निधन २०६५ सालमा भएको थियो । एसएलको पत्रकारिता जीवनमा पार्वतीदेवीले योगदान पुर्‍याए झैं अरु पत्रकारलाई पत्रकारिता गर्न सहयोग पुर्‍याउने श्रीमतीलाई प्रोत्साहन गर्ने उद्देश्यले 'पार्वतीदेवी शर्मा पत्रकारिता प्रोत्साहन पुरस्कार'को स्थापना २०६६ सालमा भएको थियो ।
प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारको पक्षमा सशक्त वकालत र अग्रणी अभियान सञ्चालन गर्दै आएको नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा हुने उक्त कार्यक्रममा सहभागिताका लागि झापाका सबै पत्रकारलाई महासंघ झापाका अध्यक्ष भीम नेम्वाङले आग्रह गरेका छन् ।
पत्रकार आचारसंहिताको कार्यान्वयन तथा नेपाली पत्रकारिताको मर्यादा र प्रतिष्ठालाई उच्च बनाउदै समाज रुपान्तरणका लागि महासंघले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
जतिसक्दो चाँडो मुलुकमा प्रेस स्वतन्त्रताको ग्यारेन्टीसहितको नया संविधान निर्माण, श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा तथा न्यूनतम पारिश्रमिकको कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ केन्द्रित रहँदै आएको छ ।




Comments