विद्युत जडान नहुँदा किसान तथा घरायसी उपभोक्ता समस्यामा




१२ चैत, दमक।
लामो समयदेखि नयाँ उपभोक्ताहरुका लागि विद्युत जडान नगरिँदा किसान तथा घरायसी उपभोक्ताहरू समस्यामा परेका छन् ।
नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रमा सेवा पाउनका लागि प्रतिक्षारत उपभोक्ताहरुको सूचि बढ्दो छ ।
लखनपुर-५ का भीमराज लिम्बुले सिचाईंका लागि केन्द्रमा आवेदन दिएको महिनौ वितेपनि सेवा पाउन नसकेको गुनासो राखेका छन् । उनले भने, 'समयमै नयाँ मिटर जडान नहुँदा चैते धान खेती प्रभावित भएको छ ।'



त्यस्तै पिरलो दमक १५ का भाइकाजी तामाङ र गणेश भट्टराईको पनि छ । प्राधिकरणले मिटर नदिएपछि तामाङले २० हजार रूपैयाँ खर्चिएर पेट्रोलले चल्ने पम्पसेट जडान गरेका छन् ।
यस्तै चैते धान लगाउने सपना बुनेर बोरिङ गाडेका भट्टराईको पनि सपनामै सिमित रह्यो । 'धान रोपाईंको त के कुरा', भट्टराई भन्छन्, 'यस्तो खडेरीमा मकैमा समेत पानी लगाउन पाइएन।'
सेवा दिन नसकेपछि प्राधिकरणले मिटरका लागि अग्रीम रकम लिँदै आएको नियमित प्रकृया नै स्थगित गर्नु परेको जनाएको छ । केन्द्रका फोरम्यान ज्योति प्रसाईंले प्राधिकरणबाट नै समयमा नयाँ मिटर नपठाउँदा सेवाग्रहीहरु प्रभावित भएको बताए । उनले पछिल्ला चार महिनामा केन्द्रमा नयाँ ग्राहक जडानका लागि मिटर नपठाएका कारण समस्या आएको बताए । केन्द्रको दमक वितरण केन्द्रमा मात्र मंसीर यता फागुन मसान्त सम्ममा १३ सय बढी उपभोक्ताहरु लाइनका लागि कुरेर बसेका छन् ।
त्यस्तै, केन्द्रको गौरादह प्रशाखाबाट ११ सय ५० र उर्लाबारी प्रशाखाबाट ९ सय ३ जना अग्रीम पैसा बुझाएर मिटर जडानको प्रतिक्षा सूचिमा रहेका छन् ।
दमक आसपासका क्षेत्रमा बर्सेनी ठुलो संख्यामा घर बन्ने क्रम बढेपछि सेवा लिने संख्या उच्च बन्दै गएको छ । यहाँको वितरण केन्द्र देशकै सवैभन्दा बढी ग्राहक भएको क्षेत्रका रुपमा लिइने गरिन्छ । केन्द्रमा ग्राहकको संख्या हाल ८२ हजारका हाराहारीमा रहेका छन् ।
यसैवीच पछिल्ला केहि महिनायता जिल्लाको माइपश्चिमी क्षेत्रमा विद्युत चुहावट घट्दै गएको छ । गएको महिना मात्र यसअघिको चुहावट दरबाट घटेर यहाँको चुहावट २५ प्रतिशतमा पुगेको केन्द्रका इन्जिनियर दिपेन्द्र बुढाथोकीले बताए । ग्रामीण बस्तीमा बढी चुहावट हुँदै आएको र त्यसविरुद्ध केन्द्रले निगरानीसहित कारवाहीको प्रकृया अघि बढाएपछि चुहावटमा उल्लेखीय सुधार आएको इन्जिनियर बुढाथोकीले जानकारी दिए ।






Comments