किराना पसल नै यौन अखडा



तेज बन विश्वासी
१ चैत, सुनसरी ।
इटहरी क्षेत्रका होटल तथा लजहरुमा निरन्तर प्रहरी तथा सरोकारवाला निकायहरुले निगरानी बढाएपछि ठप्प बनेको यौन ब्यवसाय पछिल्लो समय पुनः जुर्मुराउन थालेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले निरन्तर होटल तथा लजहरुमा निगरानी गरिरहेपछि पलायन भएका इटहरीकै यौन व्यवसायीहरुले नयाँ बाटोबाट आफ्नो धन्दा बिस्तार गर्न थालेको पाइएको छ ।
इटहरीकै ग्रामीण भेगका बस्तीहरुमा कोठा भाडामा लिई खुलेआम यौन व्यवसाय गर्दै आएका ब्यवसायीहरु त्यस क्षेत्रमा पनि प्रहरीले छापा मारी बाटो बन्द गरीदिएपछि हाल इटहरीकै किराना पसलहरुभित्र खाट राखी यौन धन्दा चलाउन थालेको पाइएको हो ।



केही दिनअघि सुराकीको आधारमा इटहरीस्थित बसपार्कको एक किराना पसलमा छापा मार्ने क्रममा भित्र खाट र केटी राखेर ब्यवसाय चलाउन थालेको प्रत्यक्ष पाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी बिनोद कुमार शर्माले बताए । डिएसपी शर्माका अनुसार किराना पसलमा यौनधन्दा हुने गरेको ब्यापक जनगुनासो बढेपछि सुराकीको आधारमा इटहरीको बसपार्कस्थित एक किराना पसलमा छापा मार्दा एक युवतीसहित किराना पसलभित्र खाट र ओछ्यान भेटिएको थियो ।
बसपार्क क्षेत्रकै केही व्यवसायीहरूले पनि सो पसलमा यौन ब्यापार हुने गरेको बताएपछि प्रहरीले किराना पसलका सञ्चालकलाई एकपटक चेतावनी दिएर छाडेको प्रहरीले बताएको छ ।
किराना पसलभित्रै यौन व्यवसाय चलाउन थालेपछि हाल इटहरीकै शंकास्पद किराना पसलहरुमा प्रहरीले निगरानी बढाउन थालेको छ । स्रोतका अनुसार इटहरी र बसपार्क आसपास यौनकर्मी महिलाहरु कोठा भाडामा लिई दलालमार्फत फोनको भरमा स्थान परिवर्तन गर्दै निरन्तर यौन व्यवसाय गर्दै आइरहेका छन् ।




Comments