व्यापारी मैनाली रहस्यपूर्वक वेपत्ता




२४ फागुन, दुधे।
झापाको शिवसताक्षी नगरपालिका- ७ स्थित दुधे बजारका ब्यापारी रामप्रसाद मैनाली शनिवार बेलुकादेखि बेपत्ता भएका छन्। दुधे बजारमा सुनचाँदी पसल सञ्चालन गरेर बसेका मैनालीको खोजीका लागि प्रहरी परिचालन गरिएपनि अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।
स्थानीयबासिन्दाका अनुसार शनिबार दिउँसो श्रीमतीसहित दमक आएर फर्केका मैनालीले श्रीमतीलाई दुधेमा छोडेर 'जग्गाको बिवाद छ मिलाउन जान्छु' भन्दै बिर्तामोडतिर लागेका थिए । बा ८ च ८०७७ नम्बरको निजी गाडीमा रहेका मैनालीको गाडी सुरुङ्गा चोकमा पार्किङ गरेको अवस्थामा छ । गाडीमा मैनालीले प्रयोग गरेको मोबाइल फोन पनि छोडिएको प्रहरीले जनाएको छ ।




सीसी क्यामेराको फुटेज अनुसार मैनालीको गाडी साँझ ५बजेर १२ मिनेटमा सुरुङ्गामा पार्किङ गरेको देखिएको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक बिनोद निरौलाका अनुसार अहिले मैनालीको खोजीका लागि बिभिन्न टोली परिचालन गरिएको छ ।
बिहानसम्म सम्पर्कमा नआएपछि मैनाली परिवारले प्रहरीमा खबर गरेको हो । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख एसपि रबिन्द्रनाथ रेग्मीका अनुसार मैनाली अपहरणमा परेका हुन् कि भन्ने आशंकामा प्रहरी परिचालन गरेर खोजी भइरहेको छ । अनुसन्धानको क्रममा अहिले तीनजना ब्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



Comments