१९ फागुन, विर्तामोड।
नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले वर्तमान सरकार गतिशील नभएको कारण आफ्नो पार्टीले सत्ता छाड्ने मनशाय ब्यक्त गरेको बताएका छन् । 'प्रधानमन्त्रीले नयाँ संविधान बनाउन पहल पनि नगर्ने र सरकारलाई प्रभावकारी काम गरेर सुशासन दिन पनि नसक्ने अवस्था विद्यमान रहेका कारण पार्टीले सत्ता छाड्ने विषयमा आन्तरिक छलफल चलाएको हो', सचिव भट्टराईले पत्रकारहरुलाई प्रष्ट्याए ।
प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले भने, 'नेकपा एमाले सबै राजनीतिक दलसँग उच्चतम समझदारी कायम गरी २०७२ जेठ १५ मा नयाँ संविधान जारी गर्ने पक्षमा छ ।' सचिव भट्टराईले उच्चतम् सहमति गरेर संविधान बनाउने पक्षमा आफूहरु रहेपनि नमिलेका कुराहरु टुङ्ग्याउन प्रक्रियामा जानुको विकल्प नरहेको सुनाए ।
यो संविधानसभाले पनि नयाँ संविधान दिन नसके नेपालका सबै राजनीतिक शक्तिहरु असफल हुने जिकिर गर्दै एमाले नेता भट्टराईले संविधानसभाबाटै नयाँ संविधान बन्नेमा ढुक्क रहन एकीकृत माओवादीलाई आश्वस्त पारे । 'एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु, एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच माघ ५ गते भएका सहमतिहरुलाई कार्यान्वयन गरिए संविधानसभाले तत्कालै काम सम्पन्न गरी नयाँ संविधानको दस्तावेज बाहिर ल्याउन सकिने' सचिव भट्टराईले दाबी गरे।
प्रेस चौतारी झापाका अध्यक्ष गोपाल काफ्लेले सहजीकरण गरेको कार्यक्रममा सभासद् जीतु गौतम, एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक, सचिव मदन अधिकारी, प्रचार विभाग प्रमुख माधव विद्रोही, अनेमसंघका जिल्ला अध्यक्ष जसमाया गजमेरलगायतको सहभागिता थियो ।

Comments
Post a Comment