अनेमसंघद्वारा पाँचलाई सम्मान




२४ फागुन, दमक।
आखिल नेपाल महिला संघकी केन्द्रीय सचिव मेनुका काफ्लेले केही महिलामैत्री कानुन बनेका भए पनि त्यसको संस्थागत बिकास नभएको बताएकी छिन् ।
आज नेकपा एमाले निकट अनेमसंघ दमक नगर कमिटीको दशौं अधिबेशनको उद्घाटन सत्रमा बोल्दै सचिव काफ्लेले बनेका कानुन, नीतिको संस्थागत बिकास गर्न स्वयं महिला अग्रसर हुनुपर्ने बताइन् । दमक १५ स्थित एमाले पार्टी कार्यालयमा शुरु भएको अधिबेशनलाई सम्बोधन गर्दै संघकी सचिव काफ्लेले त्यसको कार्यान्यवनका लागि पुरुषको सहयोग आवश्यक हुने बताइन् ।


१०५ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा एमाले जिल्ला सचिव मदन अधिकारीले महिला अधिकार दुई सिक्काको एउटै पाटो भएको हुँदा हरेक काममा पुरुष र महिलाको हातेमालो आवश्यक रहेको बताएका थिए। अनेमसंघ झापा सचिव सचिव चन्द्रा श्रेष्ठले दिवसका अवसरमा मात्र श्रमिक महिलाहरुको बिषयमा छलफल गरेर महिला अधिकारको कुरा पुरा नहुने बताइन्। उनले महिला अधिकारका प्राप्तिका लागि ३ सय ६५ दिनै महिला आन्दोलन आवश्यक रहेको बताएकी थिइन्। अनेमासंघकी पूर्व जिल्ला अध्यक्ष शारदा सापकोटा, एमाले जिल्ल्ला सदस्य राजेन्द्र दाहाल, झापा क्षेत्र नम्वर ७ का क्षेत्रीय अध्यक्ष नेत्र दाहाल, दमक नगर अध्यक्ष अम्विका खनाल, अनेमासंघ नगर उपाध्यक्ष दुर्गा काफ्ले लगायतले महिलामाथि भएका अन्याय हटाउन सहकार्य गर्नु पर्नेमा जोडदिएका दिएका थिए।


त्यस अबसरमा नगर कमिटीका पूर्व अध्यक्ष तथा ज्येष्ठ कम्युनिष्ट मञ्चकी पूर्व केन्दीय इन्दिरा चापागाईंलाई बामपन्थी आन्दोलन, महिला अधिकार प्राप्तिका लागि पुर्‍याएको योगदानको कदरस्वरुप प्रमुख अतिथि काफ्लेले सम्मान पत्र र खादा ओढाएर सम्मान गरेकी थिइन्। नगर कमिटी अध्यक्ष लिला ढुङ्गेल दाहालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य सुमित्रा प्रसाईं र पूर्व दमक नगर अध्यक्ष सुशीला आचार्यलाई सम्मान गरिएको थियो ।
सोही अबसरमा पत्रकारिताका माध्यमबाट महिला अधिकार प्राप्तिका लागि योगदान गरेको भन्दै सप्तरंगी एफएम र पिपुल्स टाइम्स दैनिक दमकका डेक्स सम्वाददाता मनकुमार गदाल र रेडियो इन्द्रेणी उर्लाबारीकी लक्ष्मी नेपाललाई प्रमुख अतिथि काफ्लेले पुरस्कृत गरेकी थिइन्।
अधिवेशनले आज साँझसम्म नयाँ नेतृत्व चयन गर्ने अनेमसंघले जनाएको छ ।




Comments