२१ फागुन, दमक।
झापाको लखनपुरस्थित एक सहकारी संस्थाका सञ्चालकहरु एक सातादेखि फरार भएका छन् । निक्षेपकर्ताहरुको लाखौं रुपैया फिर्ता दिन नसकेपछि लखनपुर-१ स्थित मंगलमय बचत तथा ऋण सहकारी संस्थाका सवै सञ्चालकहरु सातादेखि फरार भएका हुन् ।
सहकारीमा लाखौं रुपैयाँ अपचलन भएको घटना सार्वजनिक भएपछि ती सञ्चालकहरु सम्पर्कविहीन भएका हुन् । उनीहरुविरुद्ध प्रहरीमा सर्वसाधारणहरुको निक्षेप गरेको रकम फिर्ता दिन नसकेको भनी उजुरी परेपछि समातिने डरले अध्यक्ष चन्द्रमणि अधिकारीसहित दशजना सञ्चालक समिति तथा लेखा समितिका कतिपय पदाधिकारीहरु फरार भएको बताइएको छ । यसरी फरार हुनेमा अध्यक्ष अधिकारी, सचिव तेजप्रकाश उप्रेती, लेखा समितिका संयोजक मौलबहादुर राई लगायत रहेका छन् ।
सो सहकारीले सर्वसाधारण निक्षेपकर्ताहरुको करिव ३० लाख रुपैयाँ अपचलन गरी ठगी गरेको उजुरी परेपछि जिल्ला डिभिजन सहकारी कार्यालयले विभागीय कारवाहीका लागि प्रहरीमा उजुरी गरेको थियो । प्रहरीले सहकारीका ती सञ्चालकहरुलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रकृया अगाडी बढाएपछि घरै छोडेर उनीहरु फरार भएको बुझिएको छ ।
इलाका प्रहरी कार्यालय दमकले सो ठगी प्रकरणमा संलग्न भएको आरोपमा व्यवस्थापक युवराज खड्कालाई पाँच दिनअघि समातेर तारेखमा छाडेको जनाएको छ । प्रहरीले खड्कालाई दैनिक कार्यालयमा हाजिरी हुने सर्तमा छाडेको जनाएको छ ।
प्रहरीले सो सहकारीका फरार सवै सञ्चालकहरुको खोजी भइरहेको बताएको छ ।
Comments
Post a Comment