मंगलबारे बजार अव इतिहासमा मात्र




ज्योति शर्मा, उर्लाबारी।
मोरङ्गको उर्लाबारी-७ स्थित मंगलबारे बजार अव इतिहासमा सिमित भएको छ । पूर्ब क्षेत्रकै पुराना मध्येको एक यस मंगलबारे बजार २०५५ सालदेखि सुन्झोडा खोलानजिक पूर्ब-पश्चिम राजमार्ग छेउमा सरेपछि केवल यो बजार इतिहासमा मात्र सिमीत रहेको हो ।
कुनै समय पूर्व क्षेत्रकै पुराना मध्येमा गनिने र ३ दिनसम्म लाग्ने गरेको यस उर्लाबारी-७ स्थित मंगलबारे बजार अहिले चौपाया चर्ने थलोमा परिणत भएको छ । यो बजार वि.सं. २००५ सालदेखि प्रत्येक मंगलबार लाग्दैआएको स्थानीय बयोबृद्धहरुले बताएका छन् । साप्ताहिक रूपमा लाग्ने यो हाट बिभिन्न समस्याका कारण यहाँबाट सुन्झोडा खोला नजिक पूर्ब-पश्चिम राजमार्ग छेउ दोगढेमा सरेपछि मंगलबारे बजार अव इतिहासमा मात्र सिमित रहन पुगेको छ ।



स्थानिय भुपाल कुमार रायका अनूसार राजमार्गले नछोएका ठाउँहरु पछाडिने क्रमसँगै मंगलबारे बजार पनि ओझेलमा पर्नबाट अछुतो रहेन । उनका अनुसार यहाँसम्म आउन राजमार्गबाट २ वटा मार्ग भएपनि तेली खोला प्रमुख बाधक बनेको छ । यस्ता समस्याहरु सुल्झाउन लागि नपर्नु र आपसी राजनैतिक द्वन्द गरेर अवसर गुमाउन बाध्य भएको स्थानीय युवा बानू सुब्बाको भनाई छ । उर्लाबारी नगरपालिकाले यसका पूर्वाधारका लागि बजेट छुट्याएपनि राजनैतिक हस्तछेपका कारण बिकाश गर्न बाधा पुगेको पनि उनले जानकारी गराइन् ।
बजारको नाममा रहेको १ बिघा ४ कट्ठा क्षेत्रफल जमीनका पुराना टहरा हटाइएकाले खाली चौरीमात्र बनेको छ । खाली रहेको जमीन अतिक्रमणको चपेटामा पर्ने पो होकी भन्नेमा स्थानीयहरु त्रासमा छन् । बिभिन्न कार्यालय संघसस्थाहरु स्थापना गर्न उपल्लो निकायबाट पहल भए यस स्थलको सदुपयोग हुने स्थानीय नरेन्द्र कार्कीको ठम्माई छ ।
तेली र सोल्टी खोलाले छेकेको पूर्व-पश्चिम राजमार्गबाट करिब डेढ किलोमिटरको दुरीमा रहेको यसस्थलमा जान पक्किपुल बनिसकेका कारण अब पहिला जस्तो खोलाको समस्या हटेर गएको छ । दिन-प्रतिदिन सार्वजनिक जमिनको अभाब खड्कँदै गइरहेको समयमा यस खाली ठाउँलाई उचित सदुपयोग गर्नु सबैको कर्तब्य हुन आउँछ । जसका लागि स्थानीयबासी र सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ ।


Comments