वनमा बञ्चरो !



गोविन्द पोख्रेल
हरियो वन नेपालको धन । यो उक्ति अब असान्दर्भिक भइसकेको छ । पूर्वी मारेङका उर्लाबारी, पथरी-शनिश्चरे, लेटाङ-भेगटनी र मधुमल्ला, जाँते, रमितखोला, टाँडीलगायत स्थानका वनहरुलाई नियाल्दा 'हरियो वन तस्करको धन' भन्ने निष्कर्श निकाल्नुपर्ने हुन्छ ।
आफ्नो स्रोत र साधनले भ्याएसम्म सेक्टर वन कार्यालय मंगलबारेले वन पैदावारको चोरी तस्करी नियन्त्रणमा जेजति उपलब्धी हासिल गरेको छ, त्यो अपर्याप्त नै भएपनि प्रशंसनीय छ । कार्यालय मातहतका ५ वटा इलाका वनसहित विभिन्न सामुदायिक वन क्षेत्रमा काठ तस्करी मौलाएको छ । कार्यालय प्रमुख एकराज दाहालकै भनाइलाई आधार मान्ने हो भने एक वर्षको अन्तरालमा सेक्टर वन कार्यालयले वनपैदावार चोरी तस्करीसम्बन्धी ४६ भन्दा बढी मुद्दा दायर गरिसकेको अवस्था छ । यसअवधिमा करिब १६ सय क्यूबिक फुट अवैध काठ नियन्त्रणमा लिइसकेको कार्यालयको तथ्यांक छ ।



२०७० माघ यताको घटना हेरौँ, २०७० माघ २७ गते दक्षिणी इलामको साक्फाराबाट तस्करी गरी ल्याउँदै गरेको गोलिया सहितको ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लियो । तत्कालीन उर्लाबारीका प्रहरी निरीक्षक भद्रमान मोतेले ठूलो परिमाणमा पक्राउ गरिएको काँचो सखुवा र कु-काठ सहितको सो ट्रयाक्टर सेक्टर वन कार्यालयलाई बुझाएका थिए ।
२०७१ असार २७ गते सेक्टर वन कार्यालय मंगलबारेले काठ तस्करीको ठूलो रहस्य पत्ता लगायो। मधुमल्लाको मनोहर सामुदायिक वनबाट अत्याधुनिक मेसिन 'पावर चेन स'को प्रयोग गरी काठ तस्करी गर्ने गरेको खुलेको थियो । सेक्टर वन कार्यालयले दुईजना आरोपीसहित, तस्करीमा प्रयोग भएको तीनवटा मोटरसाइकल, गोलिया लोड गरिएको ट्रकसहित अत्याधुनिक 'पावर चेन स' नियन्त्रणमा लिएको थियो । ९९ क्यूबिक फिट सखुवाको गोलिया नियन्त्रणमा लिएको थियो ।
गत माघ ३ गते शनिबार ६० क्यूबिक फुट अवैध गोलिया बोकेको ट्रयाक्टर नियन्त्रणमा लिइएको थियो । १३ माघमा चिरान काठसहित, टायर गाडा, पल्सर मोटरसाइकल र दुईवटा राँगा नियन्त्रणमा लियो, सेक्टर वन कार्यालयले ।
उल्लेखित घटना पूर्वी मोरङमा बढोत्तरी भइरहेको काठ तस्करीका केही उदाहरण हुन् ।
खासगरी मधुमल्ला, टाँडी र जाँतेमा अत्यधिक रुपमा काठ तस्करी हुने गरेको वन कार्यालयको ठम्याई छ । विगतका दिनहरुमा पूर्वी क्षेत्रका प्रहरी प्रमुख र वन कर्मचारीको मिलोमातोमा काठ तस्करी हुने गरेको आरोप लाग्ने गरेपनि पछिल्लो समय प्रहरी र वन कार्यालयको सक्रियताले अवैध काठ धमाधम नियन्त्रणमा आउन थालेको छ । यसले जनमानसमा सुरक्षा निकायप्रति सकारात्मक छाप छाडेको छ ।


तराई क्षेत्रमा हुने सखुवाको रुखमा बञ्चरोको प्रहार हुनु स्थानीयका लागि नौलो हुन छोडेको छ । कतिसम्म भने सखुवाको फेदमा वरिपरि घेरा हालेर बोक्रा छिलेको दृश्य वनमा छिर्ने जो कोहीले नियाल्न सक्छ । यसरी छिलेपछि रुख सुक्ने हुँदा त्यसलाई सहजै काट्न सामुदायिक वनहरुलाई एउटा बहाना मिल्ने गरेको छ । वर्षौंसम्म नसड्ने र काठमध्ये पनि टिकाउ खालको हुनाले तस्करहरुको नजर सखुवामै पर्ने गरेको छ । सखुवाको महत्व र उपयोगिता औधी छ । जसका कारण तस्करहरुको पहिलो रोजाइमा यो पर्ने गरेको हो ।
बोध जातिको रुख, सिसौ, बोडधमेँरो, मसला जातका काठहरु पनि कमबढी आफ्ना ठाउँमा छन् र तस्करको निशानामा परेकै छन् ।
पहाडी गाविसमा वनका कर्मचारीको दरवन्दी कम छ । स्रोत र साधानको अभावले पनि तस्करी मौलाएको विश्लेषण गर्न सकिन्छ । पहाडी क्षेत्रमा काटिने अवैध काठ उर्लाबारीमा व्यापक मात्रामा भित्रिन्छ । एकजना काठ व्यापारीले भने पनि, 'यहाँ (उर्लाबारीमा) घर निर्माणका लागि दैनिक ५० क्यूविक फिट काठको आवश्कता छ।' उनले सुनाउँदै गए, 'व्यवसाय सञ्चालनका लागि के वैध के अवैध सबैसँग काठ खरिद गर्ने बाध्यता छ ।'
दैनिक ५० क्यूविक फिट काठ ! यो चानचुने कुरा होइन । यसको आँकडा हेर्ने हो भने उर्लाबारीमा मात्र वार्षिक १८ हजार दुई सय पचास क्यूविक काठ बिक्री वितरण हुँदोरहेछ । ठूलो परिमाणमा भित्रिने काठ आयतको स्रोत के हो ? यो कहाँबाट भित्रिन्छ ? अनुमान गर्न गाह्रो छैन, नजिकको वन क्षेत्र नै काठ ओसारपसारको स्रोत हो ।



काठ तस्करीको 'कनेक्सन' स्थानीय स-मिलहरुमा जोडिएको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन । तस्करको सम्बन्ध स-मिल सञ्चालकसँग नभए काठको ओसारपसार कहाँ गर्ने ? स-मिल सञ्चालकहरु रातारात कसरी अकुत सम्पत्तीको मालिक बने ? व्यपारीहरु किन धनी बन्छन् ? यस विषयमा नियमक निकायले खोजी गर्न जरुरी छ । च्याउ झैं उम्रिएका काठ व्यापारीहरुको सम्पतिको स्रोत खोज्न ढिला भइसकेको छ । कुनै दाउरेको नाम्लो र वञ्चरोलाई नियन्त्रणमा लिई वन संरक्षणको ढोङ्ग रच्नेहरुले भारत सीमावर्ती झुर्कियासम्म ट्रकका ट्रक काठ लोड गरिएको तथ्यलाई मनन् गर्न सक्नुपर्‍यो ।
पछिल्लो समय अत्यधुनिक 'पावर चेन स' प्रयोग गर्न थालिएको छ । पावर चेन स एक किसिमको आरा हो । अत्यधुनिक विशेषता भएको यो मेसिनले क्षणभरमै धेरै रुख काट्न सक्छ । विशेषगरी यसको प्रयोग रुख काटन् र लकडी बनाउन प्रयोग हुन्छ । यसको सञ्चालन गर्नका लागि विद्युतको खाँचो पर्छ । हातले रुख काट्दा लामो समय लाग्ने र श्रम खर्च हुने भएपछि तस्करहरुले पावर चेन स को प्रयोगलाई प्राथमिकता दिएका हुन् ।
चाँडै धनाढ्य हुने मनासय लिएर तस्करी कर्ममा लाग्नेहरु बढेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख श्रीराम भण्डारीको ठम्याई छ ।
हरियो वन नेपालको धनलाई जीवन्त राख्नका लागि सबै तह र तप्का सचेत हुनु आवश्यक रहेको छ ।

gobindapokhrel9@twitter.com




Comments