संबिधान जारी नभएसम्म यही सरकार - ढुङ्गाना



२६ फागुन, दमक।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख आनन्द प्रसाद ढुङ्गानाले संबिधान जारी नहुँदाको अवस्थासम्म नेपाली कांग्रेस नेतृत्वको सरकार रहने बताएका छन् ।
सोमबार दमकमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले एमालेसँग भएको ७ बुँदे सहमतिका आधारमा सरकार गठन भएको बताउँदै तत्काल सरकार परिवर्तनको सम्भावना नरहेको बताए । उनले भने, 'तत्काल सरकार फेरवदल हुने अवस्था छैन् ।'
उनले सहमतिका आधारमा संबिधान जारी हुने वातावरण बन्दै गएको र त्यसपछि मात्र सरकारका विकल्पहरुमा छलफल हुने उल्लेख गरे । संबैधानिक राजनीतिक सम्बाद समितिले गठन गरेको वार्ता समितिका संयोजक समेत रहेका ढुंगानाले २१ वटा सशस्त्र समूहहरुसँग वार्ता सकिएको जानकारी गराए। त्यसैअनुसार ११ वटा समूहहरुले हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा आएको दावी गरे।


ढुंगानाले ती समूहका कार्यकर्ताहरुको मुद्दाको प्रकृति हेरेर सरकारले मुद्दाफिर्ता लिने जानकारी समेत गराए ।
नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति रञ्जित कर्णले पार्टीभित्रको गुटगत राजनीतिकका कारण नेविसंघको महाधिवेशन सरेको स्वीकार गरे । सभासदसमेत रहेका कर्णले पत्रकारको जिज्ञासामा बिधि प्रकिया नमानेका कारण महाधिवेशन स्थगित भएको र नेपाली कांग्रेसको महाधिवेशन अघि नै नेविसंघको महाधिवेशन हुने बताए। यूनियन क्षेत्रीय समितिका अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा पार्टीका नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहेको थियो ।





Comments